काठमाण्डौं उपत्यकामा नयाँ वितरण सञ्जालबाट मेलम्चीको पानी वितरणका लागि हालसम्म काठमाण्डौं उपत्यकाको चक्रपथ भित्रका अधिकांश क्षेत्रहरुमा १ हजार १० किलोमिटर भन्दा बढी पाइपलाइन बिच्छ्याइ सकिएको छ ।
एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा पहिलो चरणमा खानेपानी वितरण सञ्जालका लागि विभिन्न ३२ क्षेत्र र १६२ उपक्षेत्रहरूमा विभाजन गरी पानी वितरण गर्ने पद्दति अपनाइएको हो । यीमध्ये करिव ५५० किलोमिटर पाइपलाइनको परीक्षण कार्य समेत सम्पन्न भइसकेको र सो मध्ये २७० किमि नयाँ पाइपलाइन मार्फत करिब १७ हजार धाराबाट पानी वितरण भईरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
परीक्षण सम्पन्न भएको बाँकी २८० किमि पाइपलाइनबाट केहि दिनको अन्तरालमा पानी वितरण भइरहेको छ । मेलम्चीबाट १७ करोड लिटर पानी २०७९ पुस २ गते देखि पुनः सुचारु भए पश्चात बाँकी पाइपलाइन परीक्षणको कार्य तीव्रताका साथ हुँदै आएको र यहि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भु, बालुवाटार, महाराजगन्ज, धुम्बाराही आदि स्थानहरू र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिब ८०० किमि पाइपलाइन बिच्छ्याउने कार्य भइरहेको छ ।
यस मध्ये हाल सम्म करिब ४३० कि।मि। पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ भने बाँकी पाइपलाइन आगामी आर्थिक बर्ष भित्रबिछ्याई परीक्षणकार्य सुरु गर्ने लक्ष्य रहेको छ । सम्भव भएका स्थानहरुमा यी वितरणपाइपलाइनहरू सडक खन्नु नपर्ने प्रविधि (Horizontal Drive Drilling, HDD) बाट बिछ्याउने कार्य भइरहेको आयोजनाले जनाएको छ ।

खानेपानीका थोक तथा मुख्य वितरणप्रणाली प्रभावकारी सञ्चालनका लागि केन्द्रिकृत रुपमा कम्प्युटरमा आधारित स्वचालित प्रविधि जडान गर्ने कार्यको डिजाइन गर्ने कार्य सम्पन्न भई, विद्युतीय उपकरणहरुको आपूर्ति तथा संरचना निर्माणको कार्य भइरहेको छ ।
हालसम्म सुन्दरीजल देखि चक्रपथ वरिपरी निर्माण भएका पानीपोखरीहरूसम्म पानी पुर्याउने करिब ७६ किमि थोक वितरण प्रणाली (प्रतिदिन २२ करोड लिटर क्षमता) र कुल ७४ हजार ५०० घनमिटर क्षमताका १० वटा पानीपोखरीहरूको निर्माणको कार्य सम्पन्न भएको छ । निर्माण भएका थोक वितरण प्रणाली र पानीपोखरीहरुको सफलतापुर्वक परीक्षण तथा सञ्चालन पश्चात मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण भइरहेको आयोजनाको भनाई छ ।
उक्त थोक वितरण प्रणाली र पानीपोखरीहरू माघ १६ गते काठमाण्डौं उपत्यका खानेपानी ब्यबस्थापन बोर्ड एवं सञ्चालनका लागि काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिएको छ ।
एशियाली विकास बैंकको प्रस्तावित ऋण सहयोगमा दोश्रो काठमाण्डौं उपत्यका खानेपानी सुधार आयोजना सञ्चालन गर्ने सहमति भई सो अन्तर्गत भक्तपुर, मध्यपुर, किर्तिपुर, पेप्सीकोला, गोकर्ण र बौद्ध लगायतका क्षेत्रका ९३ हजार ३०० घरधुरीलाई ब्यबस्थित खानेपानी सेवा पुर्याउनको लागि करिब ७७० किमि पाइपलाइन बिछ्याउन खरिद सम्बन्धि बोलपत्र कागजात तयारी अवस्थामा रहेको आयोजनाले जनाएको छ । नेपाल सरकार र एशियाली विकास बैंक बीच ऋण सम्झौता हुनासाथ खरिद कार्य अगाडि बढाउने तयारी रहेको छ ।
साथै आव २०७९–८० को बजट बक्तब्यमा उल्लेख भए अनुसार चक्रपथ बाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैसेपाटी, बागडोल, सुर्यविनायक, मुलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्यूचाटार लगायतका स्थानमा करिब १६५० किमि पाइपलाइनको सर्भेक्षण तथा डिजाइनको कार्य भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया