दोल्ती पावर कम्पनी लिमिटेडको ६ करोड ४३ लाख ७८ हजार ४०० रुपैयाँ बराबरको आईपीओ फागुन ८ गतेदेखि निष्कासन हुने भएको छ ।
कम्पनीले स्थानीय बासिन्दाका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको सेयर एकसाथ जारी गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने प्रति सेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ ।
स्थानीय बासिन्दालाई छुट्टाइएको सेयरमध्ये दैलेखको अति प्रभावित क्षेत्र नौमुले र कालिका गाविसमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरुले २ लाख ६८ हजार २४३ कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा फागुन २५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । स्थानीय बासिन्दाहरुका लागि छुट्टाइएको सेयरको हकमा भने सो अवधिमा सबै बिक्री नभएको खण्डमा भने ढिलोमा चैत ७ गतेसम्म आवेदन खुला रहनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कहाँबाट भर्न सकिन्छ ?
कम्पनीको सेयर खरिदका लागि दैलेखका स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेवसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आयोजनका बारेमा
दोल्ती पावरले दैलेखको नौमुले गाउँपालिकामा रहेको पदमखोलामा ८० करोडको लागतमा पदमखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ ।
उक्त जलविद्युत आयोजनाले निर्माण कार्य सुरु भएको १३ महीनामै निर्माणको काम सम्पन्न गरेर उत्पादन मिति भन्दा अगावै विद्युत उत्पादन थालेपछि नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिक उत्सवमा कम्पनी कदर पत्रबाट सम्मानित समेत भएको थियो । कम्पनी २०६१ चैतमा कम्पनी रजिष्ट्रारको कार्यालमा दर्ता भएको थियो ।
जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.८५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २६.९५ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी रहेको छ ।
कम्पनीले प्रवद्र्धन गरेको ४.५० मेगावाटको पदम खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँका दरले कुल १ अर्ब ८ करोड २२ लाख ९० हजार रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया