नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले लगानीकर्ताको कुनैपनि माग सम्बोधन नगरेपछि समीक्षापछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ ।
नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले राष्ट्र बैंकलाई १२ करोड सेयर कर्जाको सीमा हटाउन, सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न, एकल अङ्कमा व्याजदर कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई अनुरोध गरेका थिए ।
तर शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको समीक्षाले विद्यमान व्यवस्थामा कुनैपनि परिवर्तन नगरेपछि बजार सूचकमा नकारात्मक असर परेको हो । राष्ट्र बैंकले अर्थतन्त्रमा केन्द्रित रहेर सेयर बजारसँग सम्बन्धीत लगानीकर्ताको मागलाई वेवास्ता गरेपछि लगानीकर्ता बजारप्रति सकारात्मक हुन नसकेका हुन् ।
आइतबार नेप्से २.७९ प्रतिशत अर्थात ६०.८८ अंकले घटेर २१२१.७५ बिन्दुमा झरेको छ । बजार थप घट्ने आंकलनका साथ लगानीकर्ता बिक्री चाप बढाउँदा कारोबार रकम बढेको छ । आज २५३ कम्पनीका ८१ लाख ३९ हजार ८४० कित्ता सेयर ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१३ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
आज कारोबरमा आएको सबै उपसमुहगत परिसूचक गिरावट आएको छ । फाइनान्स सर्वाधिक ४.६९ प्रतिशतले घट्दा उत्पादन र हाइड्रोपावरको सूचक पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ । विकास बैंक, जीवन बीमा र लगानीको इन्डेक्स पनि ३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

आज हिमालयन डिष्टिलरीको सर्वाधिक १४ करोड ३७ लाख ६८ हजार ८९५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै ङादी ग्रुप पावरको ११ करोड २९ लाख, अपि पावरको ७ करोड ८० लाख, अपर तामाकोशीको ७ करोड ७६ लाख र एनआईसी एशिया बैंकको ७ करोड ७१ लखको सेयर खरिद बिक्री भएको छ ।
आइतबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.४८ प्रतिशतले बढ्दा सामलिङ्ग पावरको ३.७३, सयपत्री हाइड्रोपावरको २.९० र बलेफी हाइड्रोपावरको पनि २.३१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक ६.६० प्रतिशतले सेयरमूल्य घटेको छ । हिमालयन पावर पार्टनर कम्पनीको सेयर ६.४४, खानीखोला हाइड्रोपावर ६.२५, ग्रीन लाइफ हाइड्रोपावरको ६.१९ र बरुण हाइड्रोपावरको ६.१४ प्रतिशतले सेयरमूल्य घटेको छ ।
आइतबारको बजारमा आएको भारी गिरावटसँगै कुल बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड २० लाख रुपैयाँमा समेटिएको छ । आइतबार मात्रै बजार पुँजीकरण ८७ अर्ब ६९ करोड रुपैयाँले घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया