नारायणगढ–मुग्लिन सडक खण्ड थप १५ दिन बन्द हुने भएको छ । सो सडकखण्डमा दिउँसोको समयमा यातायात बन्द गरिने भएको हो ।
पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार भित्तो काट्ने काम कठिन भएपछि मङ्गलबार जिल्ला प्रशासन कार्यालय चितवनले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिससमेत गरेको छ । अनुमति आएसँगै विस्फोट गराएर ढिस्को फोर्ने काम हुने उनले बताए ।
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । सो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार भित्तो काट्न कठिन हुने भएपछि विस्फोट गर्नका लागि फाइल विभाग हुँदै मन्त्रालय पठाइएको छ ।

उक्त फाइल रक्षा, गृह हुँदै अघि बढेको छ । विस्फोटको स्वीकृत भएसँगै भित्तोमा विस्फोट गर्ने योजना रहेको उनले बताए ।
सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वट पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउ भिर भएको ठाउँमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया