करोडौं ठगी गर्ने पृथ्वीबहादुर शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रियो सिआईबी

0
Shares

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरु विरुद्ध ठगीसँगै लिखत सम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ ।

ब्यूरोले आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरु माथिको अनुसन्धान सकिएको जानकारी दिएको हो । शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीको स्थापना गरी विदेशी नागरिकहरुलाई एन्टी भाइरस अपडेट, अमाजोनको बिल भुक्तानी जस्ता निहूँमा इमेलमार्फत सम्पर्क स्थापित गरी ठगी गर्ने गरेको अनुसन्धानबाट भेटिएका थियो ।

पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार त्यस समूहले पीडितलाई फोन सम्पर्क गरी नियमित गतिविधिको निगरानी गर्ने र अन्तर्राष्ट्रिय पद्धति भएकाले ‘रिमोट एक्सेस’ दिनुपर्छ भनी पीडितलाई विश्वासमा पारेर डिभाइसमा नक्कली बैंक स्टेटमेन्ट पठाई रकम जम्मा भएको देखाउने र उक्त रकम फिर्ता गर्न लगाई ठगी गर्ने गरेको थियो ।

त्यस समूहले विशेष गरी क्यान्सर पीडित तथा जेष्ठ नागरिकहरुलाई लक्ष्य बनाएको थियो ।

पृथ्वी बहादुर शाह सम्बद्ध रहेको कम्पनी तथा व्यक्तिहरुको बैंक खाताहरुमा विदेशी नागरिकहरुलाई ठगी गरी ‘स्वीफ्ट’ मार्फत जम्मा गर्न लगाएको विदेशी मुद्राको रुपान्तरित नेपाली रुपैयाँ ३८ करोड ८६ लाख ६२ हजार मध्येबाट पृथ्वी बहादुर शाहले जग्गा खरिद, घर निर्माण, सेयर तथा सुन खरिद गर्नाका साथै कम्पनी दर्ता तथा बीमा लगायतका क्षेत्रहरुमा लगानी गर्ने गरेको प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।

ठगी र संगठित अपराधका आरोपित पृथ्वी बहादुर शाह र विजय विक्रम शाह समेत ७ जनालाई पक्राउ गरिसकिएको छ । अन्य १३ जना भने फरार छन् । अनुसन्धानका क्रममा उनीहरुबाट पीडित भएकाहरुको सङ्ख्या ५६ जना रहेको भेटिएको थियो भने उनीहरुविरुद्ध २४ बटा जाहेरी वा सूचना प्राप्त भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।