स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
जिल्लामा पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका नागरिक उत्साहित भएका छन् । दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय पछि यो अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो ठूलो आयुर्वेद अस्पताल हो ।
गत माघमा अस्पताल निर्माण गरिएपछि फागुन पहिलो हप्ता निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । अस्पताल सञ्चालनमा आएपछि यहाँका नागरिक लाभान्वित हुने स्थानीय शङ्कर भण्डारीले बताए । “अस्पतालको संरचना व्यवस्थित छ, अब स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत विशेषज्ञसहितको दरबन्दी, उपकरण तथा औषधिलगायत सामाग्रीको व्यवस्था गरी सेवा दिनुपर्छ”, उनले भने ।
आयुर्वेद उपचार पद्दतिलाई विस्तार गर्न रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी १५ शय्याको भवन निर्माणका लागि सङ्घीय सरकारको भवन निर्माण शिर्षकअन्तर्गत ९ करोड ५४ लाख ८७ हजार ४८ को लागतमा ठेक्का सम्झौता भएको थियो । ११ करोड ३३ लाख ४९ हजार ९३ रुपैयाँको लागतमा निर्माण गरिएको रामपुर नगरपालिकाका आयुर्वेद शाखा प्रमुख कविराज चेमनप्रकाश पोखरेलले जानकारी दिए ।

उनले आयुर्वेदिक उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएको बताए । शाखा प्रमुख पोखरेलका अनुसार आयुर्वेदिक औषधालयमा दैनिक २५ देखि ५० बिरामी आउने गरेका छन् । “नयाँ भवनबाट सेवा थप गरी सञ्चालनमा आएपछि स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन्”, उनले भने । अस्पतालको स्वामित्वमा रहेको १२ रोपनी ८ आना जग्गामा ६८ कोठा सहितको तीन तले सुविधा सम्पन्न नयाँ भवन निर्माण भएको छ ।
विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनदेखि शिवशक्ति कन्ट्रक्सन प्रालीले निर्माण थालेको थियो । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै चैत ११ देखि सरकारले अनिश्चितकालका लागि बन्दाबन्दी गरेपछि निर्माणमा असर परेको थियो । बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मङ्सीरदेखि पुनः भवन निर्माण थालिएको थियो । विसं २०७८ भदौ २४ मा निर्माण गर्ने सम्झौता भए पनि बन्दाबन्दीका कारण समयमै काम हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।
आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीसहितले सेवा प्रदान गर्नेछन् । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट पञ्चकर्म सेवा, आकस्मिक सेवा, ओपिडी, एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गरिनेछ ।
नगरप्रमुख रमणबहादुर थापाले सुविधा सम्पन्न भवन प्राप्त भए पनि यसको व्यवस्थापन, संरक्षण र सञ्चालनमा चुनौती रहेकाले सरोकारवालासँग छलफल र समन्वय गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । पालिकाभित्र आन्तरिक स्रोतको अभावका कारण अस्पताल सञ्चालनमा चुनौती भएकाले १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नाको विकल्प रहेको उनको भनाइ थियो ।
“संघीय र प्रदेश सरकारले आवश्यक कर्मचारी दरबन्दीको व्यवस्था गरेर केही बजेट उपलब्ध गराए पालिकाले अपुग बजेट विनियोजन गरेर अस्पताल सञ्चालन गर्न सकिन्छ”, नगर प्रमुख थापाले भने । उनले सरकार र पालिकासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले निर्माण सम्पन्न गर्नु मात्रै उपलब्धि नभई यसको सही सदुपयोग गर्न सके मात्रै स्थानीय तहका लागि उपलब्धि हुने बताए । उनले यस पद्दतिले मानव स्वास्थ्यमा असर नगर्ने भएकाले आयुर्वेद उपचार थप प्रभावकारी बनाउन सारेकारवाला सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
विसं २०१७ मा पाल्पामा आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवा पाएका थिए । उक्त अस्पताल विसं २०२९ मा अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालेको थियो । अञ्चल कार्यालयको सदरमुकाम बुटवलमा राख्ने तत्कालीन सरकारको निर्णयपछि २०४३ माघ ६ मा बुटवलमा स्थानान्तरण गरिएको थियो । यो सरकारी क्षेत्रबाट स्थापना भएको पहिलो आयुर्वेद औषधालय हो । उक्त औषधालयलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनेपछि नागरिकले अब सहज स्वास्थ्योपचार पाउनेमा यहाँका स्थानीयवासी ढुक्क छन् ।
तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय छन् । रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा भने एक/एक आयुर्वेद औषधालय छन् ।
रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ । तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकार अन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ । औषधालयमा कविराज र वैद्य एक÷एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ ।
साथै ओपिडी, जनरल, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायत सेवा प्रवाह भइरहेका छन् । पछिल्लो समय आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढ्दै गएकाले पनि अस्पतालको स्तरोन्नति आवश्यक देखिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया