सरकारले भ्याट लगाएपछि तरकारीको भाउ दोब्बर पुग्यो

0
Shares

सरकारले मूल्य अभिवृद्धि कर लगाएसँगै तरकारीको भाउ अचाक्ली बढेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्दै तरकारी तथा फलफूलमा भ्याट लगाएको थियो । त्यसको भोलिपल्ट अर्थात जेठ १६ गतेदेखि नै तरकारीको भाउमा वृद्धि भएको हो ।

सरकारले पहिला कर नलगाएको तरकारीहरु जस्तै प्याज, केराउ, फ्रोजन सागपात, अन्य सागपात, आलु, कोसे तरकारी, केराउ, बोडीमा पनि कर लगाइएको हो । यसरी सरकारले कर लगाउँदा मूल्य उच्च हुने भएपछि व्यवसायीहरुले भारतबाट तरकारी ल्याउन छाडेका छन् ।

सरकाले स्वदेशी उत्पादन बढाउने र विदेशी उत्पादनलाई निरुत्साहित गर्ने उद्देश्यले भ्याट लगाएको भएतापनि स्वदेशी उत्पादन नभएको अवस्थामा व्यवसायीहरुले भारतबाट तरकारी नल्याउँदा त्यसको भाउ अचाक्ली बढेको हो ।

जेठ १५ गते प्रतिकिलो ३४ रुपैयाँमा किनबेच भएको प्याजको भाउ सरकारले बाहिरबाट ल्याउने तरकारीमा भाउमा कर लगाएसँगै अहिले ६० रुपैयाँमा किनबेच भइरहेको छ । कालिमाटीका व्यापारीले भारतबाट तरकारी नल्याउँदा यसको माग बढेसँगै मूल्य पनि बढेको हो । यता जेठ १५ गते २५ रुपैयाँमा किनबेच भएको रातो आलु आजसम्म आइपुग्दा १० रुपैयाँले वृद्धि भइसकेको छ । आलुको खपत बढिरहँदा धेरै मात्रामा आलु नआउँदा यसको मूल्य वृद्धि भएको हो ।

उपभोक्ताले स्वदेशी उत्पादन भन्दा आयातित उत्पादन सस्तो पर्ने भएकोले आयातित वस्तु नै बढी माग हुने गर्दथ्यो । सरकारको यो नीतिले उपभोक्ता मारमा पर्ने देखिएको छ । कालिमाटी तरकारी तथा फलफुल बजारका सूचना अधिकारी विनय अधिकारीले पहिला कृषिजन्य वस्तुहरुमा भ्याट नलाग्ने भने पनि यो पटकको बजेट भाषणले त्यसमा परिवर्तन गरेकोले तरकारी भाउ दोब्बर मात्रामा वृद्धि भएको बताए । उनले भने, ‘भ्याट लाग्ने झन्झटिलो प्रक्रियाले गर्दा बाहिरबाट सामान मगाउँदा यसको मूल्य बढेको हो ।’

यद्यमी भ्याट नलाग्ने तरकारीहरु जस्तै घिरौला, टमाटर, बन्दा, काउली जस्ता तरकारीको भाउ पनि अन्य तरकारी भाउ सरह नै वृद्धि भइरहेका छन् । आलु प्याज जस्ता तरकारीको भाउ बढ्दा त्यसको असर अन्य तरकारीमा समेत परेको हो ।

सरकारले यसअघि तरकारी तथा फलफूल सहित अन्य १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर छुट दिएको थियो । तर आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री प्रकाश शरण महतले ती वस्तुमा दिइँदै आएको छुट खारेज गर्दै भ्याटको व्यवस्था गरेका छन् । ‘सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ ।

यता एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य, स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किबी फ्रुट, हलुवावेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लगाएको हो ।

गत जेठ १५ गतेको तुलनामा एभोकाडोको भाउ १०० रुपैयाँले बढेको छ । जेठ १५ गते प्रतिकिलो ४५० रुपैयाँ रहेको एभोकाडो आजसम्म आइपुग्दा ५५० रुपैयाँ पुगिसकेको छ । त्यस्तै १५ गते २६६ रुपैयाँमा बिक्री भएको स्याउ अहिले प्रतिकिलो ३ सय रुपैयाँ पुगेको छ । मूल्य अभिवृद्धि कर नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र वस्तु तथा सेवाको हकमा २० लाख रुपैयाँ भ्याटको सीमा छ  ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।