घोराही सिमेन्टको आइपीओ प्रकरणमा संघईद्वारा एनआईसी एशिया बैंकको गलत प्रयोग


घोराही सिमेन्टका लगानीकर्ता एवं एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईले सोही सिमेन्ट कम्पनीको साधारण सेयर (आइपीओ) मा फर्जी आवेदन दिन आफ्नै बैंकको प्रयोग गरेको भेटिएको छ । नेपाल धितोपत्र बोर्डले विवादित आइपीओ प्रकरणको अनुसन्धान गर्दा बैंकका सञ्चालक संघईले आफ्नै बैंकको प्रयोग गरेको भेटिएको हो ।

एनआईसी एशिया बैंक र प्रिमियममा आइपीओ निष्काशन गरेको घोराही सिमेन्टमा व्यवसायिक घराना संघई ग्रुपको लगानी छ । बैंकको सञ्चालकमा रामचन्द्र संघई छन् भने उनका भतिजा आदित्य संघई घोराही सिमेन्टको सञ्चालक छन् । घोराही सिमेन्टको साधारण सेयरमा अत्याधिक माग देखाउनका लागि संघइले फर्जी आवेदन स्वीकृत गर्न बैंकलाई प्रयोग गरेको देखिन आएको हो ।

एकाघर परिवारको व्यवसायको मद्दतबाट संघईले घोराहीको आइपीओमा सर्वसाधरणमा अकर्षण देखाइ भ्रम सृजना गर्ने उद्देश्यले २० लाख कित्ता बढीको फर्जी आवेदनलाई एनआईसी एशिया बैंकबाट सदर गराएका हुन् । धितोपत्र बोर्डका अनुसार एनआईसी एशिया बैंकको खातामा पर्याप्त रकम नभएका कम्तीमा २ जनाले १० लाख कित्ताभन्दा बढीको सेयर आवेदन गरेका थिए । उक्त आवेदनलाई बैंकले सदर गरेको भन्दै बोर्डले कार्वाही प्रकृया अघि बढाउने भएको छ ।

यसअघि नै बैंक खातामा पर्याप्त मौज्दात नभई लगानीकर्तालाई भ्रमित पार्ने किसिमले आवेदन दिएका दर्जन बढी फर्जी आवेदकहरुको पहिचान भईसकेको छ । यस्ता आवेदकलाई जालसाजीका सम्बन्धमा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई सिफरिस गर्ने निर्णय पनि बोर्डले गरेको छ ।

“केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रुपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीहरुसँग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदकहरुले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने,” धितोपत्र बोर्डले भनेको छ ।

धितोपत्र बोर्डले जालसाजी अनुसन्धान प्रहरीलाई सुम्पिएसँगै फर्जी आवेदक मात्र नभई त्यस्तो आवेदन स्वीकृत गर्ने एनआईसी एशिया बैंक पनि अनुसन्धानमा तानिएको छ । यस सम्बन्धमा धितोपत्र बोर्डले भनेको छ, “कति कित्ता वा कतिवटा आवेदन भन्ने विषयभन्दा खातामा पैसा नभई किन आवेदन स्वीकृत गरयो भन्ने विषय महत्वपूर्ण देखिएको छ ।”

बोर्डले यस सम्बन्धमा अनुसन्धान गर्न सुपेरिवेक्षण विभागमा कार्यरत उप कार्यकारी निर्देशक दिपेश ताम्राकारको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदन अनुसार बैंकमाथि बोर्ड आफैंले पनि थप छानबिन गरी आवश्यक कार्वाही गर्ने निर्णय गरेको छ । यस सम्बन्धमा बोर्डले भनेको छ, “आस्वा सदस्य एनआइसी एशिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडि बढाउने ।”

यस सम्बन्धमा एनआई एशिया बैंकले भने कुनै प्रतिकृया दिएको छैन । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँग सम्पर्क गर्न प्रयास गर्दा पछि कुरा गर्ने भनी कुनै प्रतिकृया दिएनन् ।

घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि असार ४ गतेसम्म प्रतिकित्ता ४३५ रुपैयाँको दरमा ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको थियो । असार ४ गते सेयर निष्काशन बन्द हुनुपर्नेमा कम्पनीले लगानीकर्ताबाट खातामा पैसा नभएको आवेदन आएकाले प्रमाणित हुन नसकेको कारण देखाउँदै असार १४ गतेसम्म सेयर निष्काशनको म्याद थपको निर्णय गरेको थियो ।

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने म्याद थप

सेयर बिक्री भइसकेको अवस्थामा कम्पनीले निष्काशन अवधि थप गरेसँगै विवाद सुरु भएको थियो । सोही दिन धितोपत्र बोर्डले आईपीओ निष्काशनमा उत्पन्न विवादको अनुसन्धान गर्न भन्दै निष्काशन प्रकृया स्थगित गर्यो ।

निष्काशन भईरहेको आईपीओ पहिलो पटक स्थगित, घोराही सिमेन्टको रेटिङमा कैफियत

यस सम्बन्धमा बोर्डले थप अनुसान्धानलाई जारी राख्ने निर्णय समेत गरेको छ । “निष्काशन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने,” बोर्डले भनेको छ ।

निष्काशन प्रकृया स्थगित हुँदासम्ममा कम्पनीको साधारण सेयरमा ३ अर्ब ६१ करोडको आवेदन परेको थियो । बोर्डले निष्काशन प्रकृया स्थगित गरेसँगै लगानीकर्ताको उक्त रकम बन्धक भएको छ । आर्थिक वर्षको समाप्ति हुन लागेको तथा वैदेशिक रोजागरीमा गएका र आयोजना प्रभावितहरुले गरेको लगानीलाई ध्यानमा राख्दै बोर्डले बुधबार स्थगित भएको निष्काशन सुचारु गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डको कमजोरीले घोराही सिमेण्टमा सर्वसाधारणको ४ अर्ब बन्धक

घोराही सिमेन्टको आइपीओ आवेदन फिर्ता गर्न ३ दिनको समय

पहिलो ३ दिनमा यस अघि सेयर आवेदन दिएका लगानीकर्ताहरुलाई आवेदन गरेको सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता खारेज गर्न सक्ने व्यवस्था गर्न बोर्डले कम्पनीलाई निर्देशन दिएको छ । साथै ३ दिनको अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा बढीमा ७ दिनका लागि सेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १० को उपनियम २ को १ मा भएको व्यवस्था अनुसार दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्ने व्यवस्था छ ।