म्याद थप भएकै दिन स्थगित भयो घोराही सिमेन्टको आईपीओ निष्काशन


नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको साधारण सेयर निष्काशन प्रकृया तत्काल स्थगित गर्न निर्देशन दिएको छ । बोर्डले निष्काशन अनुमति दिएपछि निष्काशन समेत सुरु भएको अवस्थामा पहिलो पटक साधारण सेयर निष्काशन स्थगित गरेको हो । 

निष्काशन सुरु भएको ४ कार्यदिन पछि १० दिनको म्याद थप्न अनुमती दिएको बोर्डले सेयर आवेदनका क्रममा भएका गडबडी उजागर भएपछि निष्काशन प्रकृया रोक्ने निर्णय गरेको हो ।

बोर्ड प्रवक्ता मुक्तिनाथ श्रेष्ठले हालका लागि घोराहीको प्राथमिक निष्काशन स्थगन गर्ने निर्णय भएको नोटबजारलाई जानकारी दिए । सोमबार निर्देशन जारी गर्दै बोर्डले रेटिङमा भएको कैफियतको छानबिनका लागि भन्दै कम्पनीको सेयर निष्काशन प्रकृया स्थगन गर्न भनेको हो । 

नक्कली आवेदक, रेटिङमा कैफियत लगायतका विवादका कारण धितोपत्र बोर्डले पहिलो पटक निष्काशनको क्रममा रहेको साधारण सेयरलाई स्थगित गरेको हो ।

“उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम ९२० विपरित भए।नभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०।०२।३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा बढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ” बोर्डको निर्देशहनमा भनिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।