जाजरकोटलाई तीन अर्बमा विद्युतीकरण गरिँदै

0
Shares

जाजरकोटलाई विद्युतीकरण गर्नका लागि तीन अर्ब रुपैयाँको ठेक्का गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सवस्टेशन निर्माणका लागि तीन अर्ब रुपैयाँको नयाँ ठेक्का गरिएको हो ।

भेरी नगरपालिकाको कुदुमा नयाँ सवस्टेशन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सवस्टेशन निर्माण जारी रहेको नेपाल विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ ।

बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि समाइला सवस्टेशन निर्माण गर्न ठेक्का खोली कामको तयारी भइरहेको प्राधिकरणले जनाएको छ । पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सवस्टेशनबाट काम हुने भएको छ । प्राधिकरणका प्रमुख अभिषेकराज कलवारले चौखाको सवस्टेशन छ महिनाभित्र पूरा हुने बताए । काम गर्ने जनशक्ति कम भएकाले केही प्रविधिक समस्या भएको उनको भनाइ थियो । उनका अनुसार कुदु सवस्टेशनबाट रुकुमपश्चिम, जाजरकोट र सल्यानमा प्रसारण लाइन लिइएको छ । ३३ केभी प्रसारण लाइन तीन जिल्लामा पुर्याएको जनाइएको छ ।

चौखाको सवस्टेशन निर्माणपछि ताक्सुगाड जलविद्युत् आयोजनासँगै डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माणले निरन्तरता पाउने प्रमुख कलवारले बताए । उनका अनुसार १३२ केभी प्रसारण लाइन कोहलपुरबाट सिधैँ सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ । “१३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा मात्र विद्युत् सेवा दिगो हुने अपेक्षा गरिएको छ”, उनले भने ।

चार सय केभी प्रसारण लाइनको लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सवस्टेशनको काम यही आर्थिक वर्षमा गर्ने तयारी भइरहेको प्रमुख कलवारले जानकारी दिए । दुवै प्रसारण लाइन मैनतडामै जडान हुने प्राधिकरणले जनाएको छ ।

जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्नका लागि कुनै पनि सामग्रीको अभाव नभएको कार्यालयले जनाएको छ । जिल्लाभरी झण्डै ३० प्रतिशत विद्युतीकरण भएको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीभरी विद्युतीकरण गरिसक्ने दाबी गरेको छ । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।