बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

0
Shares

बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।

केन्द्रले आलु प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिकरुपमा आलु खेतीमा छन् ।

गत आर्थिक वर्षमा आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा तीन करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । ज्ञान केन्द्रको लागि बिनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रबद्र्धनका लागि छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि आठ करोड ६ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् । आलु प्रबद्र्धन कार्यक्रमअन्र्तगत किसानलाई आलुको बीऊ, कृषि औँजारदेखि बजारीकरणमा सहयोग पुर्याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए ।

“कृषकलाई आलुको बिऊ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ”, पुनले भने, “उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्याउँछौँ ।” गत वर्ष बागलुङमा तीन हजार ६५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो । किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।