ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट

0
Shares

ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचकासाथ काम अगाडि बढाएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरे । ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भएपनि जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै त्यसबाट जोगिनका लागि अनुकूलनका उपायहरुको खोजी गरिरहेको बताए ।

सो अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा समेत महत्वपूर्ण छलफल भएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ । बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका बारेमा नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै एक अर्काको समान चासोलाई सम्मान गर्दै अगाडि बढ्ने बताएका थिए । सो भेटमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो ।

यस्तै, ऊर्जामन्त्री बस्नेतसँग आजै चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङले शिष्टाचार भेटवार्ता गरेका थिए । सो भेटमा पनि ऊर्जामन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए । सो अवसरमा आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तारलगायतका विषयमा छलफल भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।