दशैंमा कस्तो खसी किन्ने ? यसरी पहिचान गर्न सकिन्छ स्वस्थ खसी

0
Shares

हिन्दुहरुको महान चाड दशैंलाई मान्यजनबाट आशिर्वाद लिनेदिने चाडका साथै मासु खाने पर्व कै रुपमा पनि लिने गरिन्छ । यो समयमा अन्य बेलाको भन्दा खसीबोका धेरै मासुको खपत हुने गर्दछ । दशैंमा तयारी मासुभन्दा सिंगो खसी नै किनेर ल्याएर हरेक घरमा छुट्टा छुट्टै काट्ने समेत गरिन्छ ।

यस वर्षको दसैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गर्दै छ । यस्तै दशैंको अवसरमा निजी क्षेत्रबाट खसी तथा च्याङ्ग्राको बिक्री हुने गर्छ । यो वर्षका लागि कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो ६ सय ८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँमा बिक्री गर्नेछ । उपभोक्ताले जिउँदो खसी तथा च्याङ्ग्रा किन्दा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् ।

दशैंको चहलपहल बाक्लिएपछि काठमाडौं उपत्यकामा खसी बजारहरुमा छानीछानी खसी किन्नेको भीड लाग्ने गर्दछ । कसैलाई जति मूल्य पर्ने भए पनि घोर्ले खसी नै चाहिएको छ भने कसैलाई विकासे नभई लोकल जातको चाहिएको छ । बजारमा कसैले कालो रंगका खसी ठीक हुन्छन् भनिरहेका हुन्छन् भने कसैले तिल्काने खसीको विशेषता बयान गरिरहेका हुन्छन् । तर दशैंमा कस्तो खसी किन्दा राम्रो हुन्छ ? घोर्ले किन्ने कि तिल्काने भन्ने दुविधा धेरैलाई हुने गरेको छ ।

सामान्यतया घोर्ले खसी किन्यो भने घाटा पर्दैन भनिन्छ । घोर्ले खसी खँदिलो मात्रै हैन, यस्तो खसीको मासु पनि उत्तिकै स्वादिलो हुन्छ भन्ने पुरानो मान्यता छ । कसैलाई विकासे घोर्ले खसी मन पर्दछ भने कसैले लोकल मन पराउँछन् । कसैलाई दशैंको खर्च र्पुयाउन सस्तो खालको दुब्ला ख्याउटा खसी भएपनि किन्नेपर्ने हुन्छ । दशैं नजिकिएसँगै काठमाडौंमा दैनिक हजारौं खसीबोका भित्रिने गर्दछन् । यो समयमा काठमाडौंमा खसी बजारहरुमा ठूलो संख्यामा खसी बोका खरिद बिक्री हुन्छ ।

मासुको चाडको रुपमा समेत चिनिने दशैंमा मासुका लागि खरीद गरिने खसीबोका स्वस्थ भएन भने मासुका लागि गरिने खर्चभन्दा मासु खाने अस्वस्थ भई त्यो भन्दा धेरै खर्च गर्नुपर्ने हुनसक्छ । यसका लागि मासु खरीद गर्दा स्वस्थ पशु खरीदमा ध्यान पुर्याउनुपर्ने हुन्छ । नेपालीहरुको महान पर्व बडा दशैं सुरु भैसकेको छ । दशैंका लागि आवश्यक सामानहरुको खरिद सुरु भैसकेको छ । यो चाड घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ । दशैं नजिकिएसँगै हरेकको घरमा खुशी छाएको छ ।

चाडवाडको आगमनसँगै मासुको खपत तथा उपभोग बढ्दै जाने गर्छ । दशैंमा अन्य समयको तुलनामा अधिक मासुको माग र खपत हुने गर्दछ । माग उच्च हुँदा बिरामी तथा अस्वस्थ खसीबोका वा मासु बिक्री हुने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसैले खसी किन्दा विचार पुर्याउन आवश्यक हुन्छ ।

खसीबोकाको मासु स्वाद तथा पोषणका लागि पनि उत्तिकै महत्व राख्दछ । तर मासुमा स्वाद र पोषण हुन्छ भन्ने धारणाले जस्तो पायो उस्तै मासुको प्रयोग गरियो भने ठूलो हानी हुन सक्ने स्वास्थ्यविद्हरु बताउँछन् । या भनौ अस्वस्थ पशु पहिचान नगरी उपभोग गरिने मासुले त्योभन्दा धेरै घाटा हुन्छ । मासुको लागि स्वस्थ खसीबोका हुन जरुरी छ । पशु सेवा विभागका अनुसार उपत्यकामा ५० हजार वटा खसिबोकाको आवश्यक हुन्छ ।

उच्च मागका कारण दशैंमा काठमाण्डौ उपत्यकामा यसैपनि खसीबोकोको मासुको हाहाकार हुन्छ । त्यसैले पनि खसीबोकाको मासु या खसीबोका भनेपछि उपभोक्ताहरुको तानातान हुन्छ । तर खसीबोका किन्दा धेरै कुराहरुको ध्यान पुर्याउनुपर्छ । खसीबोका किन्दा के के कुरा ध्यान दिने ? यसका लागि हामीले तपाइलाई खसीबोका किन्दा विचार पुर्याउनु पर्ने कुराहरु तल उल्लेख गरेका छौं ।

सिङमा हरियो रङ लगाएका खसीबोका मात्र किन्नुहोस् :

तपाईं काठमाडौँ उपत्यकामा मासु किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाएका खसीबोका छान्नुहोस् । नजिकको पशु हाटबजारमा पशु सेवा विभागबाट खटिएका पशु चिकित्सकले स्वास्थ पशुलाई उपभोक्ताले चिन्न सहज होस् भनी पशुको सिङमा हरियो रङ लगाउने गरेका छन् । यसर्थ हरियो रङ लगाएको पशु मात्र किन्नु होस् । सिङमा रातो रङ लागेको खसी बिरामी वा अस्वस्थ छन् भन्ने संकेत हो । यस्ता पशुको मासु खानका लागि योग्य हुँदैनन् ।

सिङमा हरियो रंग लगाएका खसीबोका मात्रै खरिद गर्नू' - काठमाडौं प्रेस :: Kathmandu Press

सामान्य व्यवहार देखाउने पशु

रोग लागेका कारण पशुहरूले प्राय टाउको पर्खालमा ठोक्ने, आफ्नो पुच्छर वा पेटमा हेरी वृत्त आकारमा धुम्ने, विभिन्न वस्तु वा मानिस जनावरलाई आक्रमण गर्न खोज्ने जस्ता व्यवहार देखाउँछन् । यस्ता लक्षण देखाउने पशुपन्छी रोगी हुन्छन् र त्यस्ताको मासु खानाले विभिन्न रोग सर्ने सम्भावना बढी हुन्छ ।

हिँडाईमा असामान्य देखिने पशुपन्छी

पशुपन्छीका खुट्टा वा शरीरको कुनै भागमा चोट पटक लागेको खण्डमा हिँडाइ असामान्य देखिन्छ । सामान्यतः पशुपन्छी १२ घण्टा अघिदेखि बहिरी वा भित्री रूपमा चोटयुक्त छन् भने यो समयमा उसको शरीरले विभिन्न किसिमका हर्मोन उत्पादन गर्न सुरु गर्छ । त्यस्ता हर्मोनले मासुको स्वाद र गुणस्तर विग्रिन्छ । यस्ता पशुपन्छीको मासु मानव शरीरका लागि राम्रो मानिँदैन ।

असामान्य हाउभाउ देखाउने पशुपन्छी

आँखा निन्द्रा लागेजस्तो, लट्ठिएको जस्तो अथवा चिन्ताजनक अवस्थामा देखिने पशुपन्छी र पेट फुलेको, टाउको र खुट्टा तन्काएकाएर सहजै उठ्न वा बस्न नसक्ने पशुपन्छी रोगी हुने हुँदा त्यस्ता पशु नकिन्नु नै राम्रो हुन्छ । यस्ता पशु रोगी हुन्छन् ।

असामान्य शारीरिक सङ्गठन भएका पशुहरू

जोर्नीहरू बढेका, सुन्निएका, पेट र कल्चौंडो सुन्निएका, बङ्गारा सुन्निएका पशु अस्वस्थ हुन्छन् । यस्ता पशु मासुका लागि उपयुक्त मानिँदैन ।
फोहोरहरू निस्केको पशु नाक, कान, गुद्वार र योनीबाट असामन्य किसिमको फोहोरहरू निस्केको पशु वा पखाला लागेको, योनीबाट असामान्य रूपमा गन्हाउने तरल पदार्थ निस्किरहेको वा आँखाका भागहरू बढेका पशुहरू मानव स्वास्थ्यका लागि प्रतिकूल हुन्छन् ।

असामान्य रूपमा स्वास फेरिरहेको, रौँ फुलाएर जिङ्रिङ्ग भएको पशु

सामान्यत पशुहरूमा जीवाणु, विषाणुको संक्रमण भइरहेको बेला वा अन्य रोगहरूले सक्रमित भइरहेका बेला स्वास छिटो फेर्ने र ज्वरो आएर रौं ठाडो पारी फुलेर जिङग्रिङ्ग देखिने हुनाले त्यस्ता पशु अस्वस्थ र रोगी हुन्छन् । त्यसैले त्यस्ता खसीबोका किन्नु हुँदैन ।

नजिकको पशु हाटबजार वा खसी बजारबाट मात्र किन्नुहोस्

सामान्यतः नेपालका सबै पशु हाट बजार र खसीबजारमा पशु सेवा विभाग वा अन्तर्गतका कार्यालयबाट नियमित अनुगमन भइरहने भएकाले त्यस्ता बजारमा पाइने पशुपन्छीहरू बाटोमा बिक्री गरिनेभन्दा स्वस्थ हुने भएकाले नजिकको हाटबजार वा खसी बजारबाट किन्दा राम्रो देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।