गण्डकी प्रदेशको राजधानी पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ आयोजना हुने भएको छ ।
नेपाल मोटर स्पोर्टस संस्था (नासा)सँग आबद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा एक सयभन्दा बढी प्रतियोगीहरुको सहभागिता रहने भिआर–४६ मोटर स्पोर्टसका प्रबन्ध निर्देशक माइकल थापाको बुझाइ छ । यो प्रतियोगिता पोखराको आन्तरिक मात्रै नभई बाह्य पर्यटनका लागिसमेत महत्त्वपूर्ण रहेको उनले जनाए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विजेता बन्ने तीन जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको अवसर प्रदान गर्ने आयोजक समितिले जनाएको छ ।
नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरैको रुचिको विषयसमेत भएकाले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको थापाले बताए ।

नेपालको बाइक रेसको इतिहासमा नै बृहत मोटरबाइक रेस नेपालकै ठूलो ट्र्याक पोखरा रङ्गशालामा आयोजना हुनेछ । यसले बाइक रेस के हो भनेर चिनाउनुका साथै युवा खेलाडीहरुलाई आकर्षण गराउनसमेत प्रभावकारी हुने थापाको विश्वास रहेको छ । गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले आफूहरुलाई दोस्रो संस्करणको तयारी सँगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको थापाले उत्साहका साथ बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ । साधारणतर्फ दुई सय रुपैयाँ र भिआइपीतर्फ एक हजारदेखि पाँच हजारसम्मको टिकट बिक्री गरिने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा एक सय ५० सिसी र ६ सय सिसी गरी दुई प्रकारका बाइकको प्रयोग हुनेछ । सो प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति कास्कीले समेत स्वीकृति दिइसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया