खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरुले किसानलाई समयमै भुक्तानी गर्न नसकेको एसोसिएसनको भनाइ छ ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अर्बौं रकम बराबरको धुलो दूध र बटर स्टक हुँदा किसानको समयमै भुक्तानी नपाएको बताए । दूधको खपत कम हुँदा मिल्क होलिडे रोक्न डेरी उद्योगले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नुपर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरीमा स्टक भएको उनको भनाइ छ ।
आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापनलगायतका कारणले दूधको माग कम भएको र नेपालको उत्पादन भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट नेपाल दुध तथा दुग्ध पदार्थ आयातका कारणले पनि नेपाली किसान मर्कामा पर्दै आएको उनले बताए ।
“दसैँको मुखमा भुक्तानी नपाउँदा गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको छ”, अध्यक्ष दाहालले भने ।

दसैँमा दूध र दुग्धजन्य पदार्थको खपत बढाउन उनले आग्रह समेत गरेका छन् । “किसान र उद्योग बचाउनु सबैको कर्तव्य हो । त्यसैले चाडपर्वमा दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दूध तथा दुग्ध पदार्थ नै लगी किसान र उद्योग बचाउने अभियानमा साथ दिन आमजनसमुदायलाई आग्रह गर्दछौँ”, अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अतिथिलाई मायाको चिनो दिँदा पनि दुध तथा दुग्ध पदार्थ नै प्रयोग गरिदिन र सहकारीका सदस्यलाई यातायात खर्च बापत दिइने रकमको सट्टामा पनि घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवाआदि वितरण गरी आम किसान र उद्योगलाई सहयोग पु¥याउन पनि एसोसिएसनले आग्रह गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया