बाग्लुङ कालिका मन्दिरमा दर्शन गर्नेहरुको घुइचो, घटस्थापना यता पाँच लाखले गरे दर्शन 

0
Shares

बाग्लुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादशैंको अवसरमा भक्तजनको भीड लागेको छ । दशैंको समयमा मात्रै ५ लाख बढी भक्तजनहरुले बाग्लुङ कालिका मन्दिर दर्शन गरेका छन् ।

विशेषतः बडादशैं र चैते दशैंमा बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने गर्छ । घटस्थापनादेखि अष्टमीसम्ममा पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ ।

गत वर्षको तुलनामा यो दशैंमा मन्दिर गर्न आउने दशनार्थीहरुको सङ्ख्या बढेको छ । गत दशैंमा चार लाख पर्यटक दर्शन गर्न आएको खड्काले बताए ।

मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटक समेत कालिका मन्दिरमा आउन थालेपछि धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अध्यक्ष खड्काका अनुसार विगतको तुलनामा यसपटकको दसैँमा भक्तजनको सङ्ख्या बढेतापनि बलीको सङ्ख्या भने घटेको छ । कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली दिने गरिन्छ । तथापि परेवाको बली निषेध गरिएको छ ।

दसैँको फूलपातीदेखि कालिका मन्दिरको पार्किङमा सवारी नअटेपछि वैकल्पिक पार्किङको व्यवस्थापन गरिएको छ । हाल कालिका मन्दिरको पार्किङमा दुई पाङ्ग्रे सवारी र वैकल्पिक पार्किङ व्यवस्थापन गरिएको रामरेखा सामुदायिक वन कार्यालयको प्राङ्गणमा चार पाङ्ग्रे सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

मन्दिरमा बागलुङसहित छिमेकी जिल्लाहरु गुल्मी, म्याग्दी, मुस्ताङ, पर्वत, चितवन, बुटवल, काठमाडौँ, स्याङ्जा, पोखरालगायतका स्थानबाट मानिसहरु दर्शनका लागि आउनेगरेको अध्यक्ष खड्काको भनाइ छ । पाँच सय वर्ष पुरानो कालिका मन्दिरमा पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण धार्मिक पर्यटक बढेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ कार्तिक २०८०, आइतबार  १८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।