साताको चौथो दिन बुधबार किन्ने र बेच्नेहरुबीच प्रतिस्पर्धा चल्दा तीव्र उतारचढावकाबीच सामान्य अंकले बढेर सेयर बजार बन्द भएको छ । बुधबार सेयर बजारमा २.६० अंकको सुधार आएको हो । आइतबार सकारात्मक सर्किट लागेर ९ मिनेटमा नै बन्द भएको बजारमा सोमबार दोहोरो अंकको करेक्शनपछि मंगलबार पनि नेप्सेमा ३६.८६ अंकको वृद्धि भएको थियो ।
यससँगै बजारस सूचक १९८८ दशमलव ०४ बिन्दुमा अडिएको छ । सूचक १९८५ बाट करिब ३२ अंक बढेर सेयर बजार १२ः१० बजे २०१७.२२ बिन्दुसम्म उक्लेको बजारमा उच्च बिक्री चाप आएपछि बजार ओरालो लागेको थियो । मंगलबार बन्द भएको क्लोजिङ्ग बिन्दुभन्दा ९.४० अंकले घटेर १९७६सम्म ओलिएको बजार खरिद चापले पुनः सामान्य अंकको वृद्धिमा टुङ्गिएको हो ।
वाणिज्य बैंकका सहायक कम्पनीले औपचारिक रुपमा सेयर बजारमा धितोपत्र किनबेच थालेपछि सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएसँगै बजारको रौनक फेरिएको हो । यसअघि पुराना लगानीकर्ता मात्र रहेको बजारमा वाणिज्य बैंकको सहायक कम्पनीले कारोबार थालेपछि धितोपत्रको दोस्रो बजारमा सर्वसाधारणको पहुँच बढेको छ । यसले पनि बजारमा फरक परिदृश्य सिर्जना भएको छ । यसै साता मात्रै ग्लोबल आईएमईको सहायक कम्पनी जेएनबिएल सेक्युरिटीज, सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज र कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्युरिटीजले औपचारिक रुपमा सेयर कारोबार थालेका छन् । अन्य नयाँ ब्रोकरहरुले समेत धमाधम सेयर किनबेच गर्दै आएका छन् ।

बुधबारको बजारमा सूचीकृत २९२ स्क्रिप्टको १ करोड २० लाख ९५ हजार ९२९ कित्ता सेयर ८१ हजार ४५१ वटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार ४ अर्ब ३० करोड ९०लाख १९ हजारको कारोबार भएकोमा बुधबार कारोबार रकम ४० करोडले घटेको हो ।
आज कारोबारमा आएका अधिकांश उपसमुहगत परिसूचकहरुमा हरियाली छाएको बजारमा होटल तथा पर्यटनमुलक, जीवन बीमा, निर्जीवन बीमा र ब्यापार भने ऋणात्मक बनेको छ । बुधबार घटेका उपसमुहगत सूचक मंगलबार उच्च बढेको थियो ।
होटल तथा पर्यटनमुलक सर्वाधिक १.६२ प्रतिशत, निर्जीवन बीमा १.३१ प्रतिशत, जीवन बीमा १.१४ प्रतिशत र ब्यापार ०.०८ प्रतिशतले घटेको छ। विकास बैंकको सूचक सर्वाधिक १.१५ प्रतिशतले बढेको बजारमा बाँकी सबै एक प्रतिशतभन्दा कमले मात्र बढेका छन् । आज कारोबारमा आएकामध्ये १६४ कम्पनीको सेयर मुल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थीर छ ।
बिहीबारको बजारमा सोनापुर मिनरल्स आयल र शिवम सिमेन्टको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । सोनापुर मिनरल्सको सर्वाधिक १४ करोड ६७ लाख ९३ हजार रुपैयाँ र शिवमको १२ करोड ६६ लाख ३८ हजारको सेयर कारोबार भयो । यस्तै अरुण काबेली पावरको हकप्रद सूचीकृतपछि कम्पनीको सेयर १२ करोड ४२ लाख २३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफको ११ करोड ५ लाख ३ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्ट लिमिटेडको ८ करोड २७ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन अरुण काबेली पावरको सर्वाधिक ७ लाख ३ हजार ९२ कित्ता कारोबार भयो भने सोनापुरको सबैभन्दा धेरै ७ हजार ३१९ वटा सङ्ख्यामा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
यसदिन बोटलर्स नेपाल (बालाजु) लिमिटेड, मोलुङ्ग हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बढेको छ । यस्तै ८.५% प्रतिशत सानिमा डिबेञ्चर २०८७ को ९.८७ प्रतिशत, मानुषी लघुवित्त ९.८७ प्रतिशत, सिटिजन म्युचुअल फन्ड–२ को ८.९८ प्रतिशत, दोल्ती पावरको ८.९६ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ७.७५ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ७.६८ प्रतिशत र मायाखोला हाइड्रोपावरको ६.७० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले ५.६९ प्रतिशतका दरले गुमाएका छन् । एक मेगावाटभन्दा कम क्षमताको यस आयोजनको सेयरको आपूर्ति न्यून हुँदा कारोबारीले सेयर मूल्य उच्च बिन्दुमा पुर्याएका थिए । यस्तै सुपर माई हाइड्रोपावरको ५.०१ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको ४.४७ प्रतिशत, इजर्जिङ्ग नेपालको ४.२० प्रतिशत र पिपल्स हाइड्रोपावरको सेयरको भाउ ४.१० प्रतिशतले घटेको छ ।
बुधबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ६५ अर्ब ४ करोड १ लाख रुपैयाँमा समेटिएको छ । मंगलबारको बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब २ करोड १९ लाख रुपैयाँ थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया