बैंकहरुको निक्षेप थ्रुपने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप ६० खर्ब नाघेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ ।
सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्रम बढ्दा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मङ्सिर २७ गतेसम्म कुल निक्षेप ५९ खर्ब ९५ अर्ब रुपैयाँ रहेकोमा एकैदिनमा ८ अर्ब रुपैयाँ निक्षेप थपिँदा मंसिर २८ गत ६० खर्ब नाघेको हो । उक्त दिनसम्म कुल कर्जा प्रवाह ४९ खर्ब ९१ अर्ब रुपैयाँ छ । मङ्सिर २८ गते मात्र बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह २ अर्ब रुपैयाँले बढेको हो ।
मंसिर २८ गतेमा वाणिज्य बैंकहरुमा मात्रै ५३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप छ भने विकास बैंक र फाइनान्स कम्पनीमा ६ खर्ब ९१ अर्ब रहेको छ । यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४४ खर्ब १७ अर्ब रुपैयाँ रहँदा विकास बैंक र फाइनान्स कम्पनीको कर्जा लगानी रकम ५ खर्ब ७५ अर्ब रुपैयाँ छ ।
उक्त दिनसम्म बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.३६ प्रतिशत कायम भएको छ । मङ्सिर २७ गतेसम्म सीडी रेसियो ८०.४२ प्रतिशत थियो ।
यस्तै मंसिर २८ गतेको औसत अन्तरबैंक ब्याजदर २.६२ प्रतिशत कायम भएको छ । यो राष्ट्र बैंकले तोकेको ब्याजदर करिडोरको सीमाभन्दा थोरै हो । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर ७ प्रतिशतमा र निक्षेप संकलन बोलकबोल दर ३ प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिको समीक्षापछि ब्याजदर घट्ने र यसले कर्जा प्रवाह वृद्धि भई लक्ष्य भेट्टाउन समेत सहज हुने राष्ट्र बैंकले बताएको थियाे ।
तर अपेक्षित रुपमा कर्जा प्रवाह नहुँदा बैंकिङ्ग प्रणालीमा थ्रुपिएको निक्षेपका कारण राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरेर १ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ प्रणालीबाट प्रशोचन गरेको थियो । साथै आइतबार समेत बैंकिङ्ग प्रणालीबाट थप १० अर्ब खिचिसकेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको प्रथम चौमासमा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ । जसमध्ये कार्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएकाे थियाे ।










प्रतिक्रिया