डेडिकेटेड फिडर एवम् ट्रंक लाइन बक्यौता तथ्याङ्क लग बुकमा छ: कुलमान घिसिङ

0
Shares

नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरी महसुल नतिर्ने ग्राहक तथ्याङ्क लग बुकमा राखिएको बताएका छन् । प्रयाप्त तथ्याङ्क र प्रमाणका आधारमा शुल्क नबुझाउने उद्योगहरुको विद्युत काटिएको उनको भनाई छ ।

उद्योगीले खोजेको टाइम अफ डे (टीओडी) अनुसारको तथ्याङ्क नहुँदैमा बक्यौता सम्बन्धी तथ्याङ्क र विवरण नै छैन भनेर नबुझ्न उनले आग्रह गरे । टीओडी मिटरको तथ्याङ्क नहुनुमा प्राधिकरणका कर्मचारीको पनि कमी कमजोरी हुनसक्ने बताउँदै कुलमानले भने, “डेडिकेटेड फिडर एवम् ट्रंक लाइनको तथ्याङ्क लगबुक र एम्पावरमा पनि छ ।” लगबुक कायम गर्नका लागि कर्मचारी खटिएको हुन्छ भने उसले कति विद्युत खपत भयो ? कुन समयदेखि भन्ने सबै विवरण लग बुकमा हुने उनको दाबी छ ।

टीओडी मिटरको तथ्याङ्क नभएको खण्डमा पनि बक्यौता असुलीका लागि बिल पठाएपछि अदालत गएका उद्योगीहरुको विपक्षमा मुद्दा नै खारेज भएको उनले बताए । हालसम्म बक्यौता सम्बन्धि करिब ४५ वटा मुद्दा अदालतले खारेज गरेको जानकारी घिसिङले दिए । त्यसैले हाल ९ कम्पनीको विद्युत काटिएको भएपनि आगामी दिनमा बक्यौता रहेका अन्य कम्पनीको पनि काटिने उनले बताए । घिसिङका अनुसार थप ६१ कम्पनीको विद्युत बक्यौता छ ।

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकहरुलाई प्रिमियम सहितको विद्युत महसुल भुक्तानीका लागि पटक–पटक ताकेता गर्दा पनि तिर्न नआएपछि विद्युत काट्नुपरेको उनले बताए । प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत लाइन विच्छेद गर्न सुरु गरेको हो ।

२३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियम सहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् । डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको उनले बताए । यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठूला उद्योगहरुको रहेको छ । बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमश ः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण छ ।

नेपाल विद्युत प्राधिकरणसँग डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेको तथ्याङ्क सुरक्षित रहेको बताउँदै उनले भने, “सोही आधारमा नै उद्योगहरुलाई महसुल भुक्तानीका लागि पत्राचार गरिएको छ ।” डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बिलिङ्ग गरिएको विद्युत खपतको बक्यौता महशुल किस्ताबन्दीमा तिर्नसक्ने व्यवस्था गरिएकाले सोही सुविधा लिई बिल भुक्तानी गर्न उनले अनुरोध गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार  १८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।