भन्सारमा आइसकेका सवारी आगामी असार मसान्तसम्म छुटाउन मिल्नेगरी समयावधि थप्न नाडाको अपिल

0
Shares

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गर्दै भन्सारमा आइसकेका सवारी तथा ढुवानीका साधनहरु चालु आर्थिक वर्षको अन्त्यसम्म भन्सार बिन्दुबाट सामान छुटाउन मिल्ने गरी समयावधि थप गर्न अपिल गरेको छ ।

नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्रीसँग भेट गर्दै यस्तो आग्रह आग्रह गरेको हो । भन्सार विभागले २०८० मङ्सिर १० गते सार्वजनिक सूचना जारी गर्दै सवारी तथा ढुवानीका साधनहरु छुटाउन समयावधि समेत तोकपछि गाडी आयातकर्तालाई ठूलो रकम जुटाउनुपर्ने भएपछि नाडा टोली अर्थमन्त्री महतको शरणमा पुगेको हो ।

छलफलमा नाडा अध्यक्ष थापाले उत्पादक कम्पनी र आधिकारिक बिक्रेताको सम्झौता बमोजिम सवारी साधनहरु उत्पादन गर्न कयौं महिना पूर्व आदेश दिनुपर्ने, सम्झौता बमोजिम सम्झौता अवधिभित्र लिन कबुल गरेको सङ्ख्यामा सवारी साधनहरु लिनैपर्नेे अवस्था रहेकाल सहजीकरण गरिदिन आग्रह गरेको बताए । भेटका क्रममा सवारी साधनका आधिकारिक पैठारीकर्ताहरुले सवारी साधन आयात गर्नैपर्ने बाध्यतात्मक अवस्थामा रहेता पनि पैठारीकर्ताहरुले कार्य योजना बनाई क्रमिक रुपमा भन्सार जाँचपास गराउने कार्य गर्दै आइरहेको अर्थमन्त्री समक्ष जानकारी दिएको छ ।

सो अवसरमा हालको विषम परिस्थितिमा सवारी साधनको बजार माग अति न्यून हुँदाहुँदै पनि सवारी साधन व्यवसायीहरुले क्रमिक रुपमा छुटाउँदै आएको र हालैको ६ महिनाभित्रै पनि करिब १ हजार ६०० सवारी तथा ढुवानीका साधनहरु भन्सार जाँचपास गराइ सकिएको जानकारी प्रतिनिधि मण्डलले गराएको छ। यस्तै जटिल परिस्थिति रहेको अवस्थामा समेत व्यवसायीहरुले भन्सारमा पार्किङ्ग शुल्क बापत करोडौं रकम तिरि रहेकोले असार मसान्तसम्मको समयावधि थप गर्न आग्रह गरेको हो ।

भन्सारमा रहेका सबै सामानहरु एकै प्रकृतिका नहुने र विशेषत सवारी तथा ढुवानीका साधनहरुका हकमा अझ यस्ता सवारी साधनहरुको आयु अवधि लामो हुने हुँदा यस्ता सवारी साधनहरुका हकमा अन्य सामानहरु सरह एकै प्रकारको व्यवहार गरिनु न्यायोचित नहुने धारणा नाडाले राखेको छ ।

उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बिक्री हुन नसकी भन्सार बिन्दुहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुलाई कुनै पनि मुलुकमा रि–एक्सपोर्ट गर्न सकिने व्यवस्थाको परिकल्पना आर्थिक ऐनले गरेको र सो सम्बन्धी प्रावधान समेत रहेको तर सोको कार्यान्वयन भने नभएको भन्दै त्यस्ता सवारी तथा ढुवानीका साधनहरु रिएक्सपोर्ट गर्नका लागि विद्यमान कानूनी व्यवधानलाई सहजीकरण समेत गरीदिन अनुरोध गरे । त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपाल मै उत्पादन हुने सबै किसिमका व्याट्रीहरु निर्यात गर्दा अन्य निर्यात वस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्थाका लागि अनुरोध गर्दे नेपालमा उत्पादित व्याट्रीहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्थाका लागि समेत आग्रह गरे । त्यस्तै नाडाका सचिव विक्रम सिंहानियाले पनि नेपालमा उत्पादित टायर निर्यात गर्दा पनि सोही किसिमको व्यवस्थाका लागि अनुरोध गरे ।

वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार बिन्दुबाट छृटाउने सम्बन्धमा सूचना प्रकाशित गरी सवारी तथा ढुवानीका साधनहरु समेत छृटाउने गरी भन्सार विभागले २०८० मङ्सिर १० गते सार्वजनिक सूचना जारी गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार  १९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।