नेपाल राष्ट्र बैंकले मङ्सिरको सुरुवातदेखि बैंकिङ प्रणालीबाट निक्षेप संकलन गरेपनि अन्तर बैंक दर भने बढ्न सकेको छैन । वित्तीय प्रणालीमा कर्जाको माग नहुनु र अधिक तरलताका कारण निक्षेप संकलन बढाएपनि अन्तर बैंक दर नबढेको हो ।
केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दर (३ प्रतिशत) भन्दा अन्तर बैंक तल रहेको खण्डमा निक्षेप संकलन उपकर जारी गर्नुपर्छ । उक्त व्यवस्थालाई हेर्दा केन्द्रीय बैंकले अझै पनि निक्षेप संकलन उपकरण जारी गर्नुपर्ने देखिन्छ । तर, बिहीबार केन्द्रीय बैंकले सात दिनका लागि २० अर्ब निक्षेप माग गरेकोमा बैंक वित्तीय संस्थाबाट १५ अर्बको मात्र आवेदन परेको छ ।
निक्षेप संकलनको दर ब्याजदर मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार ३ प्रतिशत पुगेको छ । तर, अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको सीमा भन्दा तल रहेको हुनाले वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम न छ भन्ने स्पष्ट हुन्छ । अधिक तरलता भएको अवस्थामा पनि बैंकहरुले केन्द्रीय बैंकले माग गरे अनुसारको निक्षेप केन्द्रीय बैंकलाई दिन नचाहेको देखिन्छ ।
केन्द्रीय बैंकले गत मंसिर ६ देखि पुस १२ गतेसम्म १५ पटक निक्षेप संकलन गरिसकेको छ । यो अवधिमा केन्द्रीय बैंकले २ खर्ब ७० अर्ब रुपैयाँ बराबरबको निक्षेप संकलनको माग गरेको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४१ अर्ब ५० करोड रुपैयाँ मात्र निक्षेप संकलनमा लगानी गरेका थिए ।

वित्तीय प्रणालमिा अधिक तरलता भएपछि अन्तर बैंक दर घट्छ । अन्तर बैंक दर धेरै नघटोस् भनेर वित्तीय प्रणालीको तरलता खिच्न अल्पकालिन अवधिका लागि केन्द्रीय बैंकले निक्षेप संकलन गर्छ ।
निक्षेप संकलनले ब्याजदर करिडोरभित्र राख्ने तथा तरलता व्यवस्थापनको काम गर्छ । ब्याजदर करिडोर अन्तर्गत माथिल्लो सीमाको रुपमा बैंक दर ७ प्रतिशत तोकिएको छ । त्यसैगरी नीतिगत दरको रुपमा रिपोट रेट ५.५ प्रतिशत तोकिएको छ । वित्तीय प्रणालीमा तलरलता संकुचन भई अन्तर बैंक ब्याजदर बैंक दर भन्दा माथि गएको खण्डमा रिपो मार्फत केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्ने ब्यवस्था मौद्रिक नीतिमा छ ।
बिहीबार केन्द्रीय बैंकले माग गरेको २० अर्बको निक्षेपका लागि १५ बैंक वित्तीय संस्थाले ५३ आवेदन मार्फत १५ अर्ब रुपैयाँ बराबरको माग गरेका छन् । केन्द्रीय बैंकले ९ अर्ब २५ करोड मात्रै निक्षेप संकलन गरेको छ ।
बिहीबारको निक्षेप संकलनमा बैंक वित्तीय संस्थाले अधिकतम ३.०९९९ र न्यूनतम २.७००० प्रतिशत ब्याज माग गरेका छन् । यसको औसत ब्याजदर २.९९९२ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि केन्द्रीय बैंकले बुधबारको जारी गरेको निक्षेप संकलनको औसत ब्याजदर २.८५९४५ प्रतिशत थियो ।










प्रतिक्रिया