बाराही हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चुक्ता पुँजीको हकप्रद निष्कासन गर्ने भएको छ । उक्त हकप्रद जारी गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेसँगै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको हो ।

प्रतिसेयर १०० रुपैयाँ अंकित दरको २५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौंलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको हो । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । १ बराबर १ अनुपातमा हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्काशन वापत संकलन हुने पुँजी कम्पनीले आफ्नो ५१ पतिशत सेयर रहेको ९३.४५ मेगावाट क्षमताको सिंकोस खोला जलविद्युत आयोजना र आफ्नो स्वामित्वमा रहेको ०.७५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजनाको निर्माणको लागि उपयोग गर्नेछ ।

कम्पनीले २०७९ मंसिर २१ देखि २६ गतेसम्म कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता आईपीओ जारी गरेर २०७९ पुस ३ गते आइतबार बाँडफाँड गरेको थियो । कम्पनीको सेयर २०७९ पुस १९ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री हुँदै आएको छ । दोस्रो बजारमा कम्पनीको सेयर आइतबार प्रतिकित्ता ४७६ रुपैयाँमा खरिद बिक्री भएको छ ।

बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७४ असार २४ गतेदेखि ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।