खेल क्षेत्रमा बजेट बढाउने अर्थमन्त्रीको प्रतिबद्धता


अर्थमन्त्री डा प्रकाशरण महतले खेलकुदको क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाएका छन् । नुवाकोटको बट्टारमा शनिबारदेखि सुरु भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताए ।

“आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा खेल क्षेत्रका विभिन्न विधालाई प्रोत्साहनसहितका कार्यक्रम र बजेटको आकार बढाउने छौँ”, उनले भने, “खेलकुदमा गरिएको लगानीले शारीरिक तन्दुरुस्ती बनाउन, युवालाई स्वदेशमा टिकाउन, अनुशासन कायम गराउन तथा अन्तर्राष्ट्रिय जगत्मा पहिचान बढाउनसमेत प्रभावकारी नतिजा निकाल्न सकिन्छ ।”

खेल प्रतियोगिता नियमित गराउन पूर्वाधारको अभाव, खेलाडीलाई टिकाउन र दक्ष बनाउन आर्थिक समस्याको चुनौती भएकाले बजेट वृद्धिले केही हदसम्म खेल क्षेत्रको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । थोरै लगानीबाट दीर्घकालीन प्रतिफल निकाल्ने योजनासहित खेल क्षेत्रको बजेटमा आगामी वर्ष प्राथमिकता पाउनेमा ढुक्क हुन अर्थमन्त्री महतले आग्रह गरे ।

“युवाको क्षमता वृद्धि तथा स्वास्थ्य र रोजगारी सिर्जनामा समेत खेलमा गरिएको लगानीले सहयोग पुर्याउने छ”, उनले भने,“खेलकुदका विभिन्न विधामा अहिले विनियोजित बजेटलाई समयसान्दर्भिक र लोकप्रियताका आधारमा केही परिमार्जन गर्नुपर्ने देखिन्छ ।”

शनिबारदेखि सुरु भएको ‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयरकप फुटबल प्रतियोगिता’ हालसम्म जिल्लामा पालिकास्तरबाट सञ्चालित सबैभन्दा ठूलो धनराशि पुरस्कार भएकाले यस्ता प्रतियोगिताले खेल र खेलाडीको विकास र पूर्वाधार निर्माणमा योगदान गर्ने भन्दै उनले आयोजकको प्रशंसा गरे ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार  ०६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।