तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव


पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।

आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको चार अर्ब १६ करोड रुपैयाँ लागतमा मिति २०७९ कात्तिकबाट तीन वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो ।

कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष ४८ करोड रुपैयाँको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०\८१ मा ५८ करोड रुपैयाँ विनियोजन भएको थियो । तर उक्त रकम पुस मसान्तको छ महिनाभित्रमा ४० करोड रुपैयाँ सकिसकेको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए । “अब आयोजनालाई विनियोजित रकम १८ करोड रुपैयाँ बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम २५ करोड रुपैयाँ छ”, उनले भने ।

आयोजना निरन्तरताका लागि चालु आवको असार मसान्तसम्मका लागि सरकारलाई थप एक अर्ब २० करोड रुपैयाँ माग गरेको उनले जानकारी दिए । सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजना प्रभावित हुने निरौलाले जानकारी दिए ।

करिडोरको शनिबार जिल्ला समन्वय समिति धनकुटा, जिल्ला प्रशासन कार्यालय तथा धनकुटाका सुरक्षा निकाय र नेपाल पत्रकार महासङ्घ धनकुटाको टोलीले धनकुुटामा पर्ने करिडोरको २८ किमी सडकखण्डको अनुगमन गरेको छ । अनुगमनका क्रममा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए ।

आयोजनाका लागि देखिएको आर्थिक समस्या समधान गर्न धनकुटाबाट निर्वाचित सांसदमार्फत सहयोगका लागि सरकारलाई अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिए । आर्थिक अभाव तथा आयोजनाका समस्याका बारेमा जिल्लामा थप छलफल गरेर सरकार र मन्त्रालयलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीन स्वशासित क्षेत्र तिब्बतलाई किमाथाङ्कासँग जोड्न २०६५ सालमा आयोजना सुरु गरिएको थियो । रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार  ०८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।