
आम लगानीकर्ताको अपेक्षा विपरित साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक २४.५८ अंक घटेर १९७४.३७ विन्दुमा झरेको हो । बिहीबार घटेर बन्द भएको बजार आइतबार बढ्ने लगानीकर्ताको अपेक्षा रहेपनि आज पनि बजार ओरालो मै बन्द भएपछि थप निराशा पैदा भएको हो ।
बैकिङ्ग प्रणालीमा प्रयाप्त तरलता, सस्तो ब्याजदरका जस्ता सकारात्मक पक्ष रहेपनि सेयर बजारलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नबन्दा लगानीकर्ताको मनोबल कमजोर नै रहेको छ । सेयर बजार घट्नुपर्ने मुख्य कारण नभएपनि नियामकीय निकाय धितोपत्र बोर्डमा प्रमुख नियुक्त पैकृया बीचमै अवरुद्ध हुनु तथा बेवास्ताका कारण नै लगानीकर्ताले बजारमा लगानी बढाउन नचाहेको देखिन्छ ।
बजारमा उच्च अंकको गिरावट आएसँगै बजार थप ओरालो लाग्ने अनुमानका साथ लगानीकर्ताले थप लगानी गर्न नचाहँदा कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आइतबार कारोबार ३ अर्ब ७९ करोडमा खुम्चिएको हो ।
यसदिन ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ६० हजार ५२३ पटकको कारोबार हुँदा दैनिक कारोबार ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा समेटिएको छ । आइतबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.३६, फ्लोट इण्डेक्स १.२६ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त र निर्जीवन बीमा झिनो बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक सर्वाकि २.६५ प्रतिशतले घटेको बजारमा उत्पादन तथा प्रशोधनमुलक २.३७ र वित्त २.०३ प्रतिशत घटेको छ । बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल फाइनान्स आज कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ। फाइनान्सकोसेयर ५५२ रुपैयाँमा अन्तिम कारोबार हुँदा १२ करोड ६४ लाख ९९ हजार रुपैयाँमा समेटिएको छ। हिमालयन डिष्टिलरीको प्रतिकित्ता १३६७.९० रुपैयाँका दरले ११ करोड ९० लाख, पोखरा फाइनान्सको ७३६ का दरले ११ करोड ७० लाख, आईएमई लाइफ इन्स्योरेन्सको ५५२ रुपैयाँमा ११ करोड ५ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९१ का दरमा ९ करोड ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशत बढेर ४९३ रुपैयाँ पुगेको छ । त्यस्तै साधना लघुवित्त ८.७२, र समता घरेलु लघुवित्त ८.७२, ११% केबिएल डिबेञ्चर २०८९ को मूल्य ४.०३ प्रतिशत र नबिल ब्यालेन्स्ड फन्ड–३ को इकाई मूल्य ३.८९ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएकामध्ये पिपुल्स पावरको सेयर लगानीकर्ताले सर्वाधिक ९.९२ प्रतिशतका दरले गुमाएका छन् । यससँगै कम्पनीको मूल्य ५५४ रुपैयाँमा झरेको छ। त्यस्तै सिंगटी हाइड्रो इनर्जीको ७.५५, हिमालयन डिष्टिलरी ६.३३, जानकी फाइनान्स ५.६९ प्रतिशत र बोटलर्स नेपाल तराइको मूल्य ५.२३ प्रतिशतले घटेको छ ।
आइतबारको गिरावटसँगै कुल बजार पुँजीकरण ३१ खर्ब ३० अर्ब ६१ करोड ७६ लाख २ हजार रुपैयाँमा समेटिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया