धेरै सकारात्मकताकाबीच सेयर बजारमा सकारात्मक माहोल र्सजना हुन नसक्दा धितोपत्र बजार पछिल्लो समय ‘साइडवेज’ मा नै चद्यन थालेको छ । विशेषतः सेयर लगानीकर्तामा मनोबल बढ्न नसक्दा बजारमा कम सेयर सप्लाई भएका थोरै पुँजी भएका कम्पनीको सेयरमा कारोबारी रमाउने गरेको देखिएको छ।
रेमिट्यान्सका कारण बढ्दो निक्षेपका र कर्जाको मागमा आएको कमीका कारण बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता, घट्दो ब्याजदर, आर्थिक वर्षको समाप्ती नजिकिनु, बजेटमा धितोपत्र बजारका नियमनलाई सुदृढ पार्ने घोषणा, गभर्नरद्धारा लचिलो मौद्रिक नीति आउने सार्वजनिक अभिव्यक्तिका बाबजुत धितोपत्र बजारमा आशातित वृद्धि हुन सकेको छैन । अल्पकालीन लगानीकर्ताको हाबीका कारण केही दिन बढ्ने र सो लगत्तै घट्ने बजारमा लगानीभन्दा कारोबारी अधिक सक्रिय हुँदा बजार अस्थिर देखिएको हो ।
यद्यपी भोलिका दिनमा बजारमा ठूला तथा संस्थागत लगानीकर्ताले लगानी बढाउँदै जाँदा आम सर्वसाधारणमा पनि सोही अनुसार बजारमा सक्रिय हुने र लगानीको मनोबल बढ्दा बजारले गत लिने आंकलन अनुभवी लगानीकर्ताको छ । यद्यपी हालका दिनमा पनि ४ अर्बमाथिको दैनिक सेयर कारोबार भैरहेकाले बजार त्यति धेरै निष्कृय भएको भन्न नमिल्ने लगानीकर्ताहरु बताउँछन् ।
साताको अन्तिम दिन बिहीबर नेप्से झिनो अंकले घटेर बन्द भएको छ । यसदिन बजार सूचक १.९३ अंकले घटेर २०७७.७८ बिन्दुमा झरेको छ । अघिल्लो दिन बुधबार ५.५८ अंक घटेर २०७९.७१ विन्दुमा कायम रहेको थियो । यसदिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.३४, कारोबारयोग्य सेयरको मापक फ्लोट इण्डेक्स ०.२४ र सर्वसाधारणमा रहेको कारोबारयोग्य सेयरको सूचक मापक सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४२ प्रतिशतले घटेका छन् ।

आज ३२२ कम्पनीका ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ५९ हजार ६५० ओटा संख्यामा ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२१ रुपैयाँमा खरिद बिक्री भएका छन् । बुधबार ३ अर्ब ९९ करोड २९ लाखको कारोबार भएको थियो । बुधबारको तुलनामा यस दिन दैनिक कारोबार रकम ३९ करोड ५३ लाख रुपैयाँले घटेको हो ।
बिहीबार ब्यापार सहित पाँच उपसमुहगत सूचक बढ्दा ८ ओटा घटेको छ । ब्यापार १.९६ प्रतिशतले बढेको छ भने लघुवित्त, हाइड्रोपावर, लगानी र होटल तथा पर्यटनमुलक एक प्रतिशतभन्दा कम बढेका छन् । आज फाइनान्स सर्वाधिक २.०८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको १८ करोड ६८ लाख ४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ करोड ४५ लाख, पोखरा फाइनान्सको १४ करोड १३ लाख, हिमालयन लघुवित्तको १० करोड २७ लाख रुपैयाँ र सुपर मादी हाइड्रोपावरको ७ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन इमर्जिङ्ग नेपाल लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मिड सोलु हाइड्रोपावरको सेयर दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै इमर्जिङ्गको प्रतिकित्ता मूल्य १०२१.९० रुपैयाँ, भगवती हाइड्रोपावर डेभलपमेन्टको १०९३.८० रुपैयाँ, । मिड सोलु हाइड्रोपावरको ७०४ रुपैयाँ पुगेको छ ।
त्यस्तै बुद्धभुमि नेपाल हाइड्रोपावर ९.८८ प्रतिशत, माण्डू हाइड्रोपावरको ८.४३ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ७.५८ प्रतिशत, सिटिजन म्युचुअल फन्ड–२ को ७.०७ प्रतिशत,मन्दाकिनी हाइड्रोपावरको ६.७७ प्रतिशत, ग्लोबल आइएमई लघुव्त्तिको ६.६९ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ६.६६ प्रतिशतले बढेको छ।
उता बिहीबारको बजारबाट माईखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.४० प्रतिशतले घटेर ३६८ रुपैयाँमा झरेको छ। यस्तै ७.५८ प्रतिशत, ज्योति विकास बण्ड २०८७ को ५.५३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.३१ प्रतिशत, पोखरा फाइनान्स ५.१२ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयर ४.५६ प्रतिशतले घटेको छ ।
बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ९४ अर्ब ७४ करोड १७ लाख रुपैयाँमा समेटिएको छ । हिजो बुधबार ३२ खर्ब ९७ अर्ब ८१ करोड २५ लाख रुपैयाँ थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया