असार २७ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई आईपीओ निष्कासन गर्न लागेको गोल्यान समुहको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खराब वित्तीय अवस्था देखिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको खुद मुनाफामा भारी गिरावट आएको हो । विसं २०८० चैत मसान्तसम्म कम्पनीले २ करोड ६३ लाख २३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । जबकी गत आवमा कम्पनीको मुनाफा ९२ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो । गत आवको तथ्याङ्कलाई आधार मान्दा कम्पनीको गत आवको ९ महिनाको औसत मुनाफा ६९ करोड ५८ लाख ६५ हजार हुन आउँछ । व्यापारमा गिरावट आउँदा त्यसको सोझो असर खुद नाफामा परेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा कम्पनीको बिक्री आय ७ अर्ब २१ लाख छ । गत आर्थिक वर्षको १२ महिनामा रिलायन्स स्पिनिङ मिल्सले १० अर्ब ५८ लाख बढीको मालबवस्तु बिक्री गरेको थियाे । गत आवको तथ्याङ्कलाई आधार मान्दा कम्पनीको गत आवको ९ महिनाको औसत बिक्री ७ अर्ब ५० करोड ४३ लाख ५६ हजार रुपैयाँ हुन आउँछ । यस्तै गत आवमा ३ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ रहेकाे कम्पनीको अन्य आय पनि चालु आवको ९ महीना अवधिमा २ करोड १४ लाख ७६ हजार रुपैयाँ छ ।
गत अवको ९ महीनामा १९ करोड १५ लाख धेरै खर्च सामान बिक्रीमा गरेकोमा चालु आवको सोही अवधिमा ८ करोड ६७ लाख मात्र रहेको छ । जुन गत आवको तुलनामा ५४.६९% कम हो । समीक्षा अवधिमा गत आवमा वित्तीय खर्च २४ करोड ९० लाखबाट ४९.९६% बढेर चालु आवको ९ महीना अवधिमा नै ३७ करोड ३३ लाख ९८ हजार रुपैयाँ पुगेको छ । 
आइपीओ निष्काशनको अन्तिम तयारीमा रहेको कम्पनीको खराब वित्तीय प्रदर्शनले बुक बिल्डिङ्गबाट महङ्गो मूल्यमा सेयर बिक्री गर्न लागेको कम्पनीको उक्त सार्वजनिक निष्कासनमा धक्का लाग्नसक्ने देखिएको हो ।
चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको आम्दानी र मुनाफामा आएको उच्च गिरावटले कम्पनीको वार्षिक प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट देखिएको छ । गत आवमा वार्षिक प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको थियाे । उक्त कम्पनीको इपीएस गत चैत मसान्तसम्म २ रुपैयाँ ८ पैसा कायम भएको छ ।
कम्पनीको सेयरधनीलाई वितरण गर्ने कोष (अन्य इक्विटी) मा ५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ सञ्चित छ । गत आवमा अन्य इक्विटीमा ५ अर्ब ६३ करोड ६७ लाख थियो । एक वर्षमा अन्य इक्वीटी ३१ करोड ५१ लाख ४५ हजार रुपैयाँ बढीले घटेको छ ।
गत चैतसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ४११ रुपैयाँ ६९ पैसा कायम भएको छ । गत आवमा कम्पनीको प्रतिसेयर नेटवर्थ ४३० रुपैयाँ १५ पैसा थियो । कम्पनीले हाल कायम गरेको नेटवर्थ बुक बिल्डिङ्गबाट जारी गर्न लागेको सेयर मूल्यभन्दा आधा कम हो । रिलायन्स स्पिनिङ मिल्सले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ बिक्रीमा ल्याउँदैछ । कम्पनीले १ लाख १५ हजार ५९६ कित्ता सेयर असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गर्दैछ ।
*कम्पनीले प्रकाशन गरेको वित्तीय विववरण अनुसार विश्लेषण हुँदा गत आवको पूर्ण आर्थिक वर्षको तथ्याङ्क र चालु आर्थिक वर्षको ९ महीनाको तथ्याङ्कलाई तुलनात्मक रुपमा विश्लेषण हुन पुगेकोले यसअघि प्रकाशित समाचारलाई संशाेधन गरिएकाे छ। चालु आवको तेस्रो त्रैमाससम्मको तथ्याङ्क सहि भएपनि गत आवको १२ महिनाको तथ्याङ्कलाई ९ महिना मानेर तुलनात्मक विश्लेषण हुँदा कम्पनीको खुद नाफा र आम्दानीको प्रतिशतमा फरक पर्न गएको हो । मानवीय कमजाेरीका कारणबाट समाचारबाट पाठकमा संप्रेषण हुन गएको गलत सन्देशप्रति क्षमायाचना गर्दछौं ।-सम्पादक
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया