सक्षम प्रमुख कार्यकारी नियुक्त गर्न सरकारसँग नेप्से कर्मचारीको माग


नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सक्षम र बजारको ज्ञान भएका प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नेप्से कर्मचारी संघले सरकारसँग आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै संघले पुँजी बजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको र हालका प्रमुख कार्यकारी अधिकृतको पदावधी सकिन लागेको अवस्थामा सक्षम नेतृत्व चयन गर्न आग्रह गरेको हो ।

संघले समग्र पुँजी बजारको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्नका लागि पुँजी बजारको विषयमा ज्ञान भएको व्यक्तिलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको हो ।

“नेप्सेको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल मिति २०८१।१०।२५ गते सकिँदैछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) संस्था स्वयंको पुनर्संरचना गर्ने, साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्ने र गराउने, नयाँ कारोबार योग्य औजार ल्याउने, प्रविधिलाई अद्यावधिक गराउने लगायतको चुनौतिपूर्ण अवस्थाबाट अगाडी बढीरहेको छ । समग्र पुँजी बजारको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्नका लागि पुँजी बजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको हामीले अनुभव गरेका छौं ।” संघले भनेको छ ।

संघका अध्यक्ष नबराज थापा र सचिव पुजन ज्ञवालीको संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार अर्थमन्त्रालयबाट अब नियुक्त गरिने नेप्सेको प्रमुख कार्यकारी अधिकृत पुँजी बजारको विषयमा ज्ञान सिप, व्यवसायीक क्षमता भएको नैतिकवान साथै पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनर्संरचना कार्य गर्न र गराउन सक्ने व्यक्तीलाई छनोट गरी पठाउन हुन अनुरोध गर्दछौं ।”

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार  १६ : ४३ बजे