ग्लोबल साउथमा कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री


ओमन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले कनेक्टिभिटीसहितको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् । आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै मन्त्री डा. देउवाले सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने बताएकी हुन्।

उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ खासगरी नेपालजस्ता भूपरिवेष्ठित देशका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै यसबाट हुने सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने र यसका माध्यमबाट मानवताको समावेशी र दिगो विकासका लागि माध्यम बन्ने उनको भनाई छ।

सम्मेलनको ‘विश्वव्यापी दक्षिणको आवाजलाई बुलन्द गर्ने’ विषयक आजको सत्रमा मन्त्री डा। देउवाले भनिन्, ‘विशेषगरी हिन्द महासागरीय क्षेत्रले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्दछ र यसको उन्नति बिना विकसित विश्वले प्राप्त गरेको उपलब्धि पनि खतरामा पर्न सक्दछ ।’

उनले एजेन्डा र साझा लक्ष्य पूरा गर्न सामूहिक सहकार्य र प्रतिबद्धता आवश्यक भएको बताइन्। उनले भनिन्, ‘मलाई लाग्छ भविष्यको लागि रोडम्याप स्पष्ट छ । मानवताको भविष्यको लागि अगाडि बढ्ने बाटोमा विश्व सहमत छ । यसका लागि आवश्यक रणनीति पनि पहिचान भएको छ । म दोहोर्याउन चाहन्छु कि ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्दछ । हामी कसैलाई पनि पछाडि छोड्ने छैनौँ र पछाडि छोडिन पनि चाहँदैनौँ । हाम्रा एजेन्डा र साझा लक्ष्य पूरा गर्न सामूहिक सहकार्य र प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ ।’

उनले ग्लोबल साउथको पूर्ण सम्भावनालाई उजागर गर्न यस क्षेत्रले दक्षिण–दक्षिण सहयोग सुधारका लागि आवश्यक नीतिहरूको समीक्षा गर्दै क्षेत्रीय एकीकरणलाई सुदृढ पार्ने र पारस्परिक सहयोगलाई बढावा दिने कामलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्।

उनले भनिन्, ुवित्तीय स्रोतहरूमा समतामूलक पहुँच सुनिश्चित गर्ने र ग्लोबल साउथको प्रतिनिधित्व सुनिश्चित गर्न विश्वव्यापी रुपमा प्रशासन तथा वित्तीय संस्थाहरूमा सुधार गर्नु आवश्यक छ । साथै विकसित देशहरूका प्रतिबद्धताहरूको पूर्तिका लागि पनि हामीले सामूहिक वकालत गर्नुपर्ने अवस्था छ ।ु

त्यसैगरी सडक, हवाई तथा समुद्र मार्फत क्षेत्रीय कनेक्टिभिटी बढाउने र आपसी ज्ञान, सीप र प्रविधिको हस्तान्तरण मार्फत क्षमता विकासको कामलाई समूहिक रुपमा अघि बढाउने काम गर्नुपर्नेमा पनि उनको जोड थियो ।

नेपालले ‘सगरमाथा संवाद’को आयोजना गर्न लागेको जानकारी

गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा आयोजित समिट अफ द फ्युचरमा परिकल्पना गरिएको दिगो विकास लक्ष्य पूरा गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगलाई प्रभावकारी रणनीतिका रूपमा मान्यता दिइएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा। देउवाले यस क्षेत्रका देशहरुका अन्तर्राष्ट्रिय प्रतिबद्धता एवं लक्ष्यहरु पूरा गर्न पनि यो सहकार्य आवश्यक रहेकामा जोड दिइन् ।

उनले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा ‘सगरमाथा संवाद’को आयोजना गरेको जानकारी गराइन् । आगामी मे महिनामा काठमाडौँमा आयोजना गरिएको यस संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ मुख्य विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने जानकारी उनले दिइन् ।

यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही एवं विश्वका नेताहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको बताउँदै सो संवादमा सहभागिताका लागि आमन्त्रण पनि गरिन्।

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार  ०६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।