राष्ट्र बैंकको ४ अर्ब निक्षेपले बढायो खराब कर्जाको सीमा, ८ प्रतिशतसम्मको एनपीएल समान्य 


नेपाल राष्ट्र बैंकले अनौपचारिक रुपमा खराब कर्जाको सीमा बढाएको छ । यसभन्दा अघि ५ प्रतिशत रहदै आएको खराब कर्जाको सीमा ८ प्रतिशत पुर्याएको हो । 

केन्द्रीय बैंक बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको सीमा औपचारिक रुपमा नतोके पनि औपचारिक रुपमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने भन्दै आएको थियो । तर, गत आइतबार देखि भने खराब कर्जा ८ प्रतिशतसम्म भएपनि संस्थागत जोखिम न्यून हुने सन्देश दिदैँ अनौपचारिक रुपमा उक्त सीमा बढाएको हो । 

आइतबार केन्द्रीय बैंकले ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने सुचना प्रकाशित गर्यो । उक्त सूचनामा केन्द्रीय तोक्ने सर्तमा खराब कर्जा कुल कर्जाको ८ प्रतिशत ननाघेको उल्लेख छ । यसभन्दा अघि केन्द्रीय बैंकले गत माघ २७ गते २ अर्ब १९ करोड रुपैयाँ निक्षेप राख्नका लागि बोलकबोल आह्वान गरेको थियो । उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाका लागि खराब कर्जाको सीमा ५ प्रतिशत तोकेको थियो । 

विगतमा केन्द्रीय बैंकले खराब कर्जा ५ प्रतिशत भन्दा धेरै भएका बैंक तथा वित्तीय संस्थालाई कार्यक्षेत्र विस्तार तथा स्तरोन्नति हुनका लागि ५ प्रतिशत भन्दा धेरै खराब कर्जा हुन नहुने सर्त राख्दै आएको थियो । त्यसैगरी केन्द्रीय बैंकले निक्षेप लगानी गर्ने सन्दर्भमा पनि खराब कर्जाको सीमा सर्त राख्ने गरेको छ ।

कोरोना महामारी तथा अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकहरुको कर्जा डिफल्ट रेट बढ्दै गयो । कर्जा डिफल्ट हुने दर बढेसँगै बैंकहरुले असुली समेत गर्न सकेनन् । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै गयो । केही वाणिज्य बैंकहरुकै खराब कर्जा ५ प्रतिशत भन्दा माथि पुग्यो ।

खराब कर्जा ५ प्रतिशत भन्दा माथि पुगेका बैंक तथा वित्तीय संस्था राष्ट्र बैंककै निक्षेप लिन पनि अयोग्य भए । त्यसले गर्दा पनि केन्द्रीय बैंकले खराब कर्जाको सीमा बढाएर ८ प्रतिशत पुर्याएको हो । साथै अहिले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेकै कारण संस्थाको जोखिम बढेको भन्न नमिल्ने तर्क राख्दै केन्द्रीय बैंकले खराब कर्जाको सीमा बढाएको हो । केन्द्रीय बैंकले अहिले जोखिममा आधारित सुपरीवेक्षण पद्धति अपनाएको हुनाले पनि खराब कर्जा ५ प्रतिशत भन्दा धेरै हुँदैमा जोखिम बढ्यो भन्न नमिल्ने केन्द्रीय बैंकको बुझाइ छ । 

 

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।