काठमाडौँ । नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।
उनका अनुसार साँघुरो ठाउँ भएकाले ठुलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् । अन्य विभिन्न क्षेत्रका थप ४ वटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेनन् ।
आगलगीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो निभाउन कालीमाटी प्रहरी वृत्तका प्रमुख रूपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वयम्भू वृत्तको प्रहरी टोलीसमेत परिचालन भएको थियो ।
आगलागीबाट अन्न, काठका फर्निचर, लत्ताकपडा, घरायसी सामान, भाँडाकुडा जलेका छन् । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया