काठमाडौँ । नेपालबाट भारततर्फ हुने विद्युत निर्यातमा उल्लेखनीय गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ८ महिनामा (साउनदेखि फागुन मसान्तसम्म) विद्युत निर्यात साढे २ अर्ब रुपैयाँले घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सो अवधिमा नेपालले भारतमा १० अर्ब ४५ करोड ६८ लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५५ करोड ६९ लाख रुपैयाँले कम हो। अघिल्लो वर्ष सोही अवधिमा भारततर्फ १३ अर्ब १ करोड ३७ लाख रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो।
विद्युत निर्यातमा आएको गिरावटको मुख्य कारण प्राकृतिक विपद् रहेको बताइएकाे छ। नेपालका विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण केही प्रमुख जलविद्युत आयोजना प्रभावित भएका थिए, जसले विद्युत उत्पादनमा बाधा पुगेको थियो।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले माथिल्लो तामाकोसीसहित केही जलविद्युत आयोजना क्षतिग्रस्त बने। माथिल्लो तामाकोसी आयोजनाको कन्ट्रोल रुम, डिस्यान्डर पोखरी, र बाँधदेखि डिस्यान्डरसम्मको भूमिगत नहरमा क्षति पुगेको थियो।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना असोज ११ गते साँझ ७ बजेदेखि बन्द भएको थियो र झन्डै ८८ दिनपछि मात्र पुनः सञ्चालनमा आएको थियो। यही क्षतिको असर विद्युत उत्पादन र त्यसको निर्यातमा प्रत्यक्ष रूपमा देखिएको छ।
प्रवक्ता शिल्पकार भन्छन्, ‘यो वर्ष वर्षा याममा पनि अघिल्ला वर्षहरू जति विद्युत बिक्री हुन सकेन। त्यसको प्रत्यक्ष असर निर्यात आयमा परेको हो।’
प्रतिक्रिया