अत्यधिक वर्षापछि श्रीनगरमा बाढीपहिरो, भेडीगोठका २६ बाख्रा पुरिए


सिमकोट । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका-३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् ।

अदानचुली-३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।

भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ वटा बाख्रा मरेकाे पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवितै निकालिएको उनले जानकारी दिए ।

उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजी भइरहेको छ । एक्कासि आएको वर्षाले ठुलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मिहिनेतका साथ पालिएका बाख्राको गोठभित्र पहिरो खसेको जनाए ।

आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, १ घर र १ भेडीगोठमा क्षति पुर्‍याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताए ।

वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली-२ अमृत बुढा, अदानचुली-१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्‍याएको छ । यहाँ अधिकांशका घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।

प्रकाशित मिति: ४ वैशाख २०८२, बिहीबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।