घोषणामै सीमित सार्वजनिक सवारीमा ‘जिपिएस सिस्टम’, सुरक्षित यात्राका लागि बससेवाको पहलले सार्थकता पाउँदै


काठमाडौँ । प्रविधिको तीव्रतर विकाससँगै देश आधुनिक युगतर्फ अघि बढेको छ । मानिसहरूले नयाँ–नयाँ प्रविधिको खोजी गर्दै छन् ।

प्राविधिक क्षेत्रमा भइरहेका नयाँ आविष्कारहरूले दैनिक जीवनलाई अझ सरल र सहज बनाउँदै छ । प्रविधिको क्षेत्रले ठुलो प्रगति गरेको छ र विभिन्न नवीनतम् उपकरण र प्रविधिको प्रयोग बढ्दो क्रममा छ ।

यस्ता नयाँ प्रविधिले उद्योग, शिक्षा, स्वास्थ्य र यातायातजस्ता क्षेत्रमा सकारात्मक असर गर्दै आएको छ । नयाँ प्रविधिको प्रयोग गरी नेपाल सरकारले २ दशकअघि नै सार्वजनिक यातायातका साधनमा जिपिएस प्रणाली लागू गर्ने जनाएको थियो ।

जसले गर्दा सवारीसाधनको वास्तविक ‘लोकेसन’ पत्ता लाग्न मद्दत पुग्छ । त्यसका साथै जिपिएस प्रणाली जोडिएका आधुनिक बसले यातायातको सुरक्षा, समय व्यवस्थापन र यात्रुको सुविधा सुनिश्चित गर्ने काम गर्छन् ।

जिपिएस प्रणालीको प्रयोगले बसमा यात्रा गर्दा यात्रुहरूको समय, सुरक्षा र सुविधा सबैमा सुधार ल्याउँछ ।

त्यतिमात्र होइन, जिपिएस लागू भएको बसमा यात्रा गर्दा जहाँ पायो त्यहीँ बस रोक्ने परिपाटीको अन्त्य हुनुका साथै निर्धारित बस स्टपमा यात्रुले सवारीसाधन आगमनको यथार्थ विवरण थाहा पाउन सक्छन्, जसले गर्दा धेरै समय बस कुर्नुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।

कुनै बस आपत्कालीन अवस्थामा छ भने जिपिएसको माध्यमबाट त्यहाँका सुरक्षा एजेन्सीलाई तुरुन्त सूचना पठाउन सकिन्छ । जसले तत्काल मद्दत पुर्याउन सम्भव बनाउने र जिपिएस प्रणालीले बसको गति ट्र्याक गरेर अत्यधिक गतिमा चलाएको अवस्थामा चालकलाई चेतावनी दिने भएकाले जिपिएस हरेक बसमा जडान हुनैपर्ने जानकारहरू बताउँछन् ।

तर, २ दशकअघिबाटै चर्चा चलेको जिपिएस प्रणाली लागू गर्ने विषय अहिलेसम्म पनि चर्चामै मात्र सीमित छ ।

आफूहरूले यातयात व्यवस्था विभागसमक्ष बारम्बार आग्रह गरे पनि विभागले जिपिएसको बारेमा ध्यान नदिएको यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

आफूहरूले सार्वजनिक यातायात व्यवस्थित बनाउन जिपिएस प्रणाली लागू गर्नुपर्ने बताउँदै आए पनि विभागले चासो नदिँदा कार्यान्वयन हुन नसकेको उनले बताए ।

यता, सार्वजनिक गाडीहरूमा छिट्टै जिपिएस प्रणाली लागू गरिने विभागका प्रवक्ता गणेशमानसिंह राईले बताए । यसको सुरुआत काठमाडौँ महानगरले गरिरहेको बताउँदै उनले त्यसका लागि आफूहरूले पनि पहल गरिरहेको बताए ।

यातायात व्यवस्था विभागले २०७८ सालमै सार्वजनिक सवारी साधनमा ‘जिपिएस भेहिकल–ट्रयाकिङ सिस्टम’ को प्रयोग सुरु गरेको थियो । त्यतिबेलै केही गाडीमा जिपिएस जडान गरेको विभागले अहिले भने त्यसलाई निरन्तरता दिन सकेको छैन ।

यता, केही समयअघि मात्रै सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई प्रतिस्थापन गर्न राष्ट्रिय यातायात नीति, २०८१ को मस्यौदा सार्वजनिक गरेको छ ।

नयाँ नीतिले यातायात व्यवस्थापन, सञ्चालन र नियमनलाई प्रभावकारी बनाउन नवीनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धति अवलम्बन गर्ने उद्देश्य राखेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा यातायात व्यवस्थापनलाई प्रविधिमैत्री, सुरक्षित र वातावरण अनुकूल बनाउन सार्वजनिक सवारीसाधनमा ग्लोबल पोजिसनिङ सिस्टमद्वारा ट्र्याकिङ गर्ने प्रणाली लागू गरिने नयाँ प्रावधान प्रस्ताव गरिएको छ ।

त्यति मात्र होइन, गृह मन्त्रालयले गत साउन ३० गते विज्ञप्ति जारी गरेरै यात्रुवाहक सार्वजनिक सवारीसाधनमा जिपिएस ट्र्याकिङ प्रणाली र सिसिटिभी जडान गर्न निर्देशन दिएको छ ।

सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिएको थियो । जसको ३ नम्बर बुँदामा सवारीसाधनमा जिपिएस ट्र्याकिङ प्रणाली राख्नुपर्ने उल्लेख छ ।

गृह मन्त्रालयले बारम्बार जिपिएस प्रणाली लागू गर्न भने पनि सवारीधनीले अटेर गरेको पाइएको छ । सबै सवारीसाधनमा जिपिएस लागू भए सवारी दुर्घटनालाई केही हदसम्म नियन्त्रण गर्न सकिने ट्राफिक प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।

गृह मन्त्रालयले सवारीधनीलाई जिपिएस राख्न निर्देशन दिए पनि अहिलेसम्म जिपिएस लागू नभएको उनको भनाइ छ ।

सवारीसाधनमा जिपिएस प्रणाली एकदमै महत्वपूर्ण रहेको बताउँदै उनले यसले ट्राफिक व्यवस्थापनलाई पनि सहयोग पुर्याउने बताए ।

बससेवाले चालेको कदम

नेपाल सरकारले २ दशकअघि नै घोषणा गरे पनि कार्यान्वयन हुन नसकेको काम सफल बनाउन पहल थालेको छ । ६ महिनाअघि सुरु भएको जिपिएस जडान अहिलेसम्म ३०० भन्दा बढी सार्वजनिक बसहरूमा उपलब्ध भएको बससेवाका दीपक विश्वकर्माले बताए ।

जिपिएस प्रणाली जडान तीव्र रूपमा भइरहेको भन्दै उनले अब यसलाई विस्तार गरी १ हजार गाडीसम्म  पुर्याउने  बताए ।

जिपिएसले गाडीको स्पिड, लोकेसन पत्ता लाग्ने भएकाले सवारीधनी, यात्रुसँगै ट्राफिक प्रहरीलाई समेत सहज भइरहेको उनले जनाए ।

बससेवाले नेपालमै पहिलो पटक जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीको आधुनिक बस ल्याएको दाबी गरेको छ ।

बससेवाले ल्याएको यस्तो नयाँ प्रविधिको प्रयोगबाट आफूले ढुक्क भएर यात्रा गर्न पाएको धनगढीबाट काठमाडौँ यात्राको क्रममा रहेकी सुजिता पाठकले बताइन् ।

बससेवाले सुरु गरेको सकारात्मक कामले आफू मात्र नभई घरका अन्य सदस्यहरूलाई पनि निकै सहयोग पुर्याएको उनी बताउँछिन् ।

बससेवाले दिएको यस्तो सुविधा हरेक बसमा लागू हुनुपर्ने भन्दै उनले भनिन्, ‘मैले मेरो बा–आमालाई अब ढुक्क भएर बससेवाको कुनै पनि बसमा काठमाडौँ पठाउन र काठमाडौँबाट धनगढी ल्याउन सक्छु । उहाँहरू फोन चलाउन जान्नुहुन्न । बससेवाको बारेमा जानकारी नहुँदा मैले छिमेकीको भरमा उहाँहरूलाई पठाउनुपथ्र्यो । अब उहाँहरू कहाँ पुग्नुभयो, उहाँहरू चढेको बसको अवस्था कस्तो छ । स्पिड कस्तो छ । मैलै मेरै फोनबाट हेर्न सक्छु । यसले मलाई निकै सहयोग गरेको छ ।’

यस्तै, उनले अब बसस्टपमा बस कतिबेला आउँछ भनेर कुर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको बताइन् । ‘अब म बसस्टपमा कुरेर बस्नुपर्दैन,’ उनले भनिन्, ‘मैले मेरो आफन्त चढेको बस कहाँ आइपुग्यो भनेर मोबाइलको सहायताले घरमै बसेर हेर्न सक्छु । यसले मेरो समयको बचत भएको छ ।’

यदि कुनै आपत्कालीन घटना भयो भने बसको स्थान तुरुन्त थाहा पाइने र आवश्यक सहायता प्रदान गर्न सजिलो हुने भएकाले पनि जिपिएस भएकै बसमा यात्रा गर्न उनी रुचाउँछिन् ।

उनी मात्र होइन, अर्का सुजन थापा पनि बससेवाबाट यात्रा गर्दा ढुक्क भएको महसुस गर्छन् । लोकेसन र स्पिड दुवै आफैँँले हेर्न मिल्ने भएकाले बससेवाले जस्तै अन्य सेवा प्रदायकले पनि यस्तो सुविधा ल्याए दुर्घटनाको जोखिम कम हुने थापा बताउँछन् ।

जिपिएस प्रणालीको विकास संयुक्त राज्य अमेरिकाको रक्षा विभागले गरेको थियो । २७ अप्रिल, १९९५ देखि यो प्रणाली पूर्ण रूपमा लागू भएको थियो ।

प्रकाशित मिति: २१ वैशाख २०८२, आइतबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।