काठमाडौं । अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटलबीच नविकरणीय सौर्य ऊर्जा परियोजनालाई संस्थागत परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतामार्फत कुमारी क्यापिटलले अर्गा भगवतीको सौर्य परियोजना सूचिकृत हुँदा सम्मका सबै आवश्यक प्रक्रिया तथा कामहरूमा परामर्श सेवा प्रदान गर्नेछ ।
यो सेवाअन्तर्गत कम्पनी रूपान्तरण, सार्वजनिक निष्काशन (आइपिओ), नियामक निकायहरूसँगको समन्वय लगायत सम्पूर्ण सूचिकरण प्रक्रिया समेटिएको छ ।
अर्गा भगवती भेन्चर्सले हाल अर्घाखाँची जिल्लामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन परियोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको छ । कम्पनीले छोटो समयमै निर्माण कार्य सम्पन्न गरी उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्ने लक्ष्य लिएको छ । यसले देशको ऊर्जा सुरक्षामा टेवा पुर्याउनुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
कम्पनीका अध्यक्ष कुशल थापाका अनुसार परियोजनाले नेपालको आर्थिक समृद्धिमा पनि योगदान दिने उद्देश्य लिएको छ । हालै यस परियोजनाले प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत आवश्यक वित्तीय व्यवस्थापन (फाइनान्सीयल क्लोजर) पूरा गरिसकेको छ ।
सम्झौतामा अर्गा भगवती भेन्चर्सका सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।










प्रतिक्रिया