ब्रिटिस काउनसिलद्धारा कनेक्सन थ्रु कल्चर अनुदान २०२५ का लागि आवेदन आव्हान


काठमाडौँ । ब्रिटिस काउन्सिलले कनेक्सन थ्रु कल्चर (सिटिसि) संस्कृतिका माध्यमबाट संयोजन अनुदान २०२५ आरम्भ भएको घोषणा गरेको छ । सिटिसिअन्तर्गत ब्रिटिस काउन्सिलले नेपाली कलाकारहरू, सांस्कृतिक कर्मीहरू र सृजनात्मक कार्यमा संलग्न संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्य गर्न अनुदानका लागि आवेदन दिन आव्हान गरेको छ ।

विश्वव्यापी सहकार्यको आवश्यकता अहम् भएको अहिलेको परिस्थितिमा यो कार्यक्रमले नेपाल तथा अन्य देशका सिर्जनात्मक समुदायलाई जोड्ने परियोजनाहरूलाई १०,००० पाउन्ड स्टर्लिङ (करिब १८ लाख २० हजार नेपाली रुपैयाँ) सम्मको अनुदान दिने छ ।

यो कार्यक्रम अन्तर्गत विभिन्न देशका कलाकर्मीहरूको संयुक्त कला कार्यशाला (ज्वाइन्ट रेसिडेन्सी), संयुक्त सिर्जनाहरूको प्रदर्शनी, मञ्चन, अनुसन्धान, र डिजिटल कथा वाचनजस्ता परियोजना लगायतका पहलहरूलाई सहयोग गरिनेछ । जसको उद्देश्य आपसी समझदारी बढाउने, नवीन संवाद सुरु गर्ने, र दीर्घकालीन अन्तर्राष्ट्रिय साझेदारीहरू निर्माणको हुनेछ ।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘यस कार्यक्रमले दुवै देशका कलाकर्मी र कलासम्बन्धी संस्थाहरूलाई साझा भविष्यको कल्पना गर्न सशक्त बनाउँछ । साझा सृजनात्मकता र आपसी सम्मानमार्फत, अन्तरदेशीय सार्थक साझेदारी विस्तार भएको हामी देख्दै छौँ र यसको प्रभाव दीर्घकालीन हुनेछ ।’

कार्यक्रमको सन् २०२५ संस्करणमा नेपालसहित बेलायत र एसिया प्यासिफिक तथा युरोपका १९ साझेदार देशहरूबाट आवेदक खुला गरिएको छ । यस वर्ष ब्रिटिस काउन्सिलले विशेष गरी जलवायु परिवर्तन, विविधता तथा समावेशिता र कलामा समानताजस्ता विश्वव्यापी विषयहरूमा केन्द्रित कला कर्मलाई प्राथमिकता दिँदै करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्य राखेको छ ।

ब्रिटिस काउन्सिल साउथ एसियाकी क्षेत्रीय कला निर्देशक जिल रिचेन्सले भने, ‘कनेक्सन थ्रु कल्चर अनुदान भन्दा पनि सृजनशीलता, सहकार्य, र परिवर्तनको उत्प्रेरक हो । हामी त्यस्ता परियोजनाहरूलाई सहयोग गर्न पाउँदा गर्व गछौँ जसले कलात्मक नवप्रवर्तन मात्र होइन, संस्कृतिहरू र समुदायहरूबिच सेतु निर्माण गर्छन् ।’

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।