विद्युत बिक्री आम्दानी बढ्दा अपि पावरको नाफामा ६८९ प्रतिशतको वृद्धि


काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च दरमा बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २५.७७ प्रतिशतले बढेर १ अर्ब १९ करोठ ७० लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी १ हजार २९९.५४ प्रतिशतले बढेर १ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल नाफा १८.४७ प्रतिशतले बढेर ९ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७०.१३ प्रतिशतले बढेर ८७ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानीमा पनि उच्च वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७२ पैसाबाट बढेर ७ रुपैयाँ ७६ पैसा पुगेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.२० गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी भने ५९ करोड ८५ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।