नेपालको वैदेशिक व्यापार : अमेरिकासँगको व्यापारमा १० वर्षमा ७ वर्ष घाटा !


काठमाडौँ । आयातको तुलनामा निर्यात एकदमै न्यून हुँदा नेपालले वैदेशिक व्यापारमा निरन्तर घाटा बेहोर्दै आइरहेको छ । यो घाटाको खाडल बर्सेनि बढ्दो क्रममा छ ।
आर्थिक वर्ष २०८१\८२ को १० महिना (साउन–वैशाख) मा नेपालले १६३ वटा देशसँग व्यापार गरेकामा प्रायः सबै देशसँगको व्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँको मात्र निर्यात गरेको छ । १० महिनाकै अवधिमा नेपालले १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख ३८ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

अन्य देशहरूजस्तै अमेरिकासँगको व्यापारमा पनि नेपालले निरन्तर घाटा बेहोर्दै आएको छ । चालु आवको वैशाखसम्मको तथ्यांक हेर्दा नेपालले २२ अर्ब ३१ करोड ४४ लाख ६ हजार रुपैयाँको वस्तु अमेरिकाबाट आयात गर्दा १४ अर्ब ४३ करोड २४ लाख ८८ हजार रुपैयाँको मात्रै अमेरिका निर्यात गरेको छ ।

सो अवधिमा नेपालले अमेरिकासँगको व्यापारमा ७ अर्ब ८८ करोड १९ लाख १८ हजार रुपैयाँ घाटा बेहोरेको छ ।

अमेरिकासँगको व्यापार घाटामा जानुको मुख्य कारण अमेरिकाबाट आयात हुने वस्तुको नेपालमा उच्च माग हुनु र निर्यात कम हुनु हो ।

अमेरिकाबाट आयात हुने मुख्य गरी विभिन्न आइफोन र स्मार्टफोनहरूको माग बढी हुँदा आयात बढेको हो । यसलाई निरुत्साहित गर्न भने सकिँदैन ।

नेपालबाट निर्यात हुने वस्तु समयमा डेलिभरी गर्न नसक्दा, हस्तकलाका सामानको गुणस्तरमा कमी, गलैँचामा गुणस्तरयुक्त ऊनको प्रयोग नहुने कारणले पनि निर्यात कम भएको दाबी गरिएको छ ।

अर्थविद् कृष्णहरि बास्कोटाका अनुसार पहिला रेडिमेड गार्मेन्ट अमेरिका जाने गरेकामा पछिल्लो समय निर्यात हुन सकेको छैन । रेडिमेड गार्मेन्ट पठाउन सक्ने सम्भावना भने जीवितै भएको उनी बताउँछन् ।

‘अमेरिकाले गरिब मुलुकमा बनेको कपडाको तयारी वस्तु खरिद गर्ने नीति बनाएको छ । कूटनीतिक वार्ता गरेर रेडिमेड गार्मेन्ट पठाउँदा व्यापार नाफामा लान सकिन्छ,’ बास्कोटाले भने, ‘हस्तकलाका सामानहरू, गलैँचा, पस्मिनालगायत सामानहरू गुणस्तरीय बनाएर समयमा पठाउन सक्ने हो भने अमेरिकासँगको व्यापार नाफामा लान सकिन्छ ।’

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० वर्षमा ७ वर्ष अमेरिकासँगको व्यापार घाटामा गएको छ । ३ वर्ष मात्र व्यापार नाफामा गएको हो । आर्थिक वर्ष २०७२\७३ र आव २०७३\७४ मा नाफामा गएको व्यापार त्यसपछि लगातार ५ वर्षसम्म घाटामा गएर २०७९\८० मा केही नाफामा गएको थियो । त्यसयता फेरि घाटाको क्रम जारी छ ।

१० वर्षमा ३ खर्बमाथिको व्यापार

नेपालले पछिल्लो १० वर्षमा अमेरिकासँग ३ खर्बभन्दा बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ देखि चालु आवको वैशाख महिनासम्मको तथ्यांकमा ३ खर्ब २५ अर्ब ४२ करोड ८३ लाख ९५ हजार रुपैयाँको व्यापार भएको देखिएको छ ।

सो अवधिमा नेपालले १ खर्ब ३० अर्ब ७२ करोड ९६ लाख ९८ हजार रुपैयाँको वस्तु तथा सामान निर्यात गर्दा १ खर्ब ९४ अर्ब ६९ करोड ८६ लाख ९७ हजार रुपैयाँको वस्तु तथा सामान आयात गरेको छ । सो अवधिमा नेपालले ६३ अर्ब ९६ करोड ८९ लाख ९८ हजार रुपैयाँ घाटा बेहोरेको छ ।

कुन वर्ष कति आयात–निर्यात ?

आर्थिक वर्ष २०७२\७३ मा ८ अर्ब ५९ करोड १ लाख १८ हजार रुपैयाँको आयात गर्दा ९ अर्ब २० करोड ८० लाख ९० हजार रुपैयाँको वस्तु तथा सामान निर्यात गरेको थियो । सो वर्ष सरकारले ६१ करोड ७९ लाख ७२ हजार रुपैयाँ व्यापार नाफा गरेको थियो ।

त्यस्तै, आव २०७३\७४ मा ८ अर्ब ४६ करोड ४८ लाख ९ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा ८ अर्ब ९६ करोड १७ लाख ७२ हजार रुपैयाँको निर्यात गरेको थियो । सो वर्ष पनि नेपालले ४९ करोड ६९ लाख ६२ हजार रुपैयाँ नाफा गरेको थियो ।

आव २०७४\७५ मा ९ अर्ब ८९ करोड ४० लाख ७७ हजार रुपैयाँको वस्तु आयात गर्दा ९ अर्ब १६ करोड २५ लाख ३९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । अघिल्ला २ वर्ष व्यापार नाफा गरेको नेपालले सो वर्ष भने ७३ करोड १५ लाख ३८ हजार रुपैयाँ घाटा बेहोर्नुप¥यो ।

त्यसैगरी, आव २०७५\७६ मा नेपालले १३ अर्ब ४२ करोड ८३ लाख ८१ हजार रुपैयाँको आयात गर्दा १० अर्ब ८४ करोड ८८ लाख ६२ हजार रुपैयाँको मात्र निर्यात गरेको छ । उक्त वर्ष सरकारले २ अर्ब ५७ करोड ९५ लाख १९ हजार रुपैयाँ घाटा बेहोरेको छ ।

आव २०७६\७७ मा नेपालले २३ अर्ब ५४ करोड ७६ लाख ४९ हजार रुपैयाँको वस्तु तथा सामान आयत गर्दा ९ अर्ब ४४ करोड ४३ लाख ६६ हजार रुपैयाँको मात्र निर्यात गरेको छ । सो वर्ष नेपालले १४ अर्ब १० करोड ३२ लाख ८३ हजार रुपैयाँ घाटा बेहोर्नुपर्यो ।

आव २०७७\७८ मा नेपालले १९ अर्ब ५० करोड १४ लाख १६ हजार रुपैयाँको आयात गर्दा निर्यात भने १३ अर्ब ७९ करोड ३५ लाख ३४ हजार रुपैयाँको मात्र गरेको छ । सो वर्ष नेपालले ५ अर्ब ७० करोड ७८ लाख ८१ हजार रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।

त्यसैगरी, आव २०७८\७९ मा ५० अर्ब ५ करोड ५ लाख १८ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा १७ अर्ब ९९ करोड २० लाख ५९ हजार रुपैयाँको निर्यात भएको छ । उक्त वर्ष ३२ अर्ब ५ करोड ८४ लाख ५९ हजार रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।

लगातार ५ वर्षसम्म व्यापार घाटा बेहोरेको नेपालले आव २०७९\८० मा भने नाफा गरेको थियो । यो वर्ष नेपालले १९ अर्ब ४२ करोड ४८ लाख ९६ हजार रुपैयाँको वस्तु तथा समान आयात गर्दा १९ अर्ब ५७ करोड १४ लाख २२ हजार रुपैयाँको वस्तु तथा सामान निर्यात गरेको छ । उक्त वर्ष नेपालले १४ करोड ६५ लाख २६ हजार रुपैयाँ नाफा गरेको हो ।

त्यस्तै, आव २०८०\८१ मा नेपालले १९ अर्ब ४८ करोड २४ लाख २७ हजार रुपैयाँको आयात गर्दा १७ अर्ब ३१ करोड ४५ लाख ६६ हजार रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात गरेको छ । सो वर्ष नेपालले २ अर्ब १६ करोड ७८ लाख ६० हजार रुपैयाँ घाटा बेहोरेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार  ०६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।