काठमाडौँ । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बाबजुद सरकारले भोलि मंगलबार बजेट पारित गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल सकेर पारित गर्ने तयारी सरकारले गरेको हाे ।
बजेटमा आएका संशोधन प्रस्तावहरूमाथि छलफल सकेर अन्तिम निर्णय गर्ने तयारी भएको हो ।
सरकारको नेतृत्व गरेको नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्ताैलाद्वारा जारी गरिएको ह्विपमा पार्टीको निर्णयअनुसार मतदानमा सहभागी भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।
अर्कातर्फ रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्दै आइरहेका छन् । यी दुवै दलले गृहमन्त्रीमाथि अनुसन्धान नभएसम्म संसद्मा अवरोध कायम राख्ने बताउँदै आएका छन् ।
यता, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत दलहरू बजेट पारित गर्न सरकारसँग सहमत देखिन्छन् । बजेट पारित हुनका लागि संसद्मा सामान्य बहुमत भए पुग्ने भएकोले सत्तारुढ दलहरूले विपक्षीलाई पेलेरै जाने निर्णय लिएका हुन् ।










प्रतिक्रिया