ललितपुर महानगरले ल्यायो साढे ७ अर्बको बजेट, युवा रोजगार क्षेत्र प्राथमिकतामा


ललितपुर । ललितपुर महानगरले आर्थिक वर्ष २०८२र८३ का लागि सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगरसभाको बैठकमा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गरेकी हुन् । उनका अनुसार चालुतर्फ दुई अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ र पुँजीगततर्फ चार अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट एक अर्ब ४१ करोड २७ लाख ९४ हजार रुपैयाँ र प्रदेश सरकारबाट १८ करोड २७ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने अनुमान प्रस्तुत गरिएको छ ।

त्यस्तै, आन्तरिक आयबाट तीन अर्ब ७१ करोड ४६ लाख ९१ हजार रुपैयाँ सङ्कलन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ ।

महानगरबाट हुने विकास निर्माणमा जनसहभागिताबापत आठ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ भने अन्तर सरकारी अख्तियारीबाट ९५ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । विनियोजन बजेटका लागि नपुग हुने एक अर्ब १२ करोड ७३ लाख ९० हजार रुपैयाँ नगद मौज्दातबाट बेहोरिने उपप्रमुख बज्राचार्यले उल्लेख गरिन् ।

नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण, दिगोे पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घरघर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

यही असार ६ गतेको नगरसभाको पहिलो बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रमका आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  ०६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।