राष्ट्र बैंकका गभर्नरको शेयरमा मात्र १४ करोड बढी लगानी, अरु केके छन् सम्पत्ति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सेयरबजारमा मात्रै १४ करोडमाथिको लगानी गरेको राष्ट्र बैंकमा पेस गरेको सम्पत्ति विवरणले देखाएको छ ।

उक्त विवरण अनुसार पौडेलसँग घरजग्गा, सुन, गाडी, सेयर लगानी र नगद छ ।

उनको सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जी लिमिटेडमा साधारण सेयर रहेको छ ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ललितपुर र नवलपरासीमा घर जग्गा, ४५ तोला सुन र १५ लाख रुपैयाँको हिराको गहना रहेको छ ।

उनकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैँडाकोटमा १/१ वटा घर र जग्गा रहेको छ । त्यस्तै श्रीमती प्रतिभाको नाममा ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिराका गहना रहेको छ ।

विभिन्न बैंक, वित्तीय तथा सहकारी संस्थामा उनको र श्रीमतीको गरी २० लाख ६८ हजार ९०५ रुपैयाँ नगद जम्मा छ । त्यस्तै दुवै जनाको नाममा ४ हजार ५१३ अमेरिकी डलर पनि रहेको उनले उल्लेख गरेका छन् ।

श्रीमती प्रतिभाको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छ ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।