मरिच आयातमा बाहिरियो ६१ करोड रुपैयाँ


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) मा नेपालले ६१ करोड बढीको मरिच आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा ६१ करोड १२ लाख ५४ हजार रुपैयाँ बराबरको मरिच आयात भएको हो ।

गत आवको तुलनामा यो वर्ष ३१ करोड ६० लाख ८९ हजार रुपैयाँ अर्थात् ५१.७२ प्रतिशतले बढी आयात भएको तथ्यांकले देखाएको छ । गत आव २०८०/८१ को सो अवधिमा २९ करोड ५१ लाख ६५ हजार बराबरको मरिच आयात भएको थियो ।
कुल आयातमध्ये ५२ करोड ५७ लाख ७२ हजारको कालो मरिच र ८ करोड ५४ लाख ८२ हजार रुपैयाँको सेतो मरिच नेपाल भित्रिएको छ ।

कालो मरिच मुख्य गरी भियतनाम, भारत, इन्डोन्यसीया र कतारबाट आयात भएको छ । ११ महिनामा सबैभन्दा बढी भियननामबाट ४० करोड ५५ लाख ८१ हजार रुपैयाँ बराबरको कालो मरिच आयात भएको हो ।

त्यस्तै, भारतबाट ७ करोड ६ लाख ५१ हजार बराबरको कालो मरिच भित्रिएसँगै इन्डोन्एसियाबाट ४ करोड ९५ लाख ३९ हजार रुपैयाँको आएको छ भने कतारबाट १ हजार रुपैयाँको कालो मरिच नेपाल भित्रिएको विभागको तथ्यांकले जनाएको हो ।

सो अवधिमा सेतो मरिच भने भियतनामबाट ८ करोड ५४ लाख ८२ हजार रुपैयाँको भित्रिएको छ ।

मरिच आयातबाट २३ करोड ४१ लाख ४२ हजार राजस्व संकलन भएको विभागले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार  १२ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।