बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले वास्तविक अर्थतन्त्र निर्माणका लागि मार्गचित्र कोरेको भन्दै नीतिको स्वागत गरेको छ । परिसंघले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै मौद्रिक नीति ल्याएको जनाएको छ ।
“लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रही आर्थिक एवं बैंकिङ क्रियाकलापहरुले गति लिन नसकिरहेको विद्यामान अवस्थामा निकै चासोपूर्वक प्रतिक्षा गरिएको मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार, नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको छ भने आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको छ,” परिसंघले भनेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले पूँजीकोषमा दबाब झेलिरहनु परेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता आउने परिसंघको अपेक्षा छ ।
खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने, बजार चलायमान बनाउनका लागि आवासीय घरकर्जा र शेयर धितो मार्जिनकर्जाको सीमा वृद्धिको व्यवस्थालाई परिसंघले सकारात्मक पहल भनेको छ ।
चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने, कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणका रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका गरिने जस्ता व्यवस्थाले अर्थतन्त्रमा टेवा पुग्ने विश्वास परिसंघको छ ।
महत्वपुर्ण सुधारमुखी व्यवस्थाहरुका कारण यसको व्यवहारिक कार्यान्वयनले आर्थिक एवं बैंकिङ क्षेत्रको दिगो विकाससहित सुदृढ, दिगो र वास्तविक अर्थतन्त्रको निर्माणको जग बसाल्ने सिबिफिनले विश्वास लिएको छ ।
अहिलेको आवश्यक्ताका विषयहरु लगानी प्रवद्र्धन तथा विस्तार, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रको विकास, युवा जनशक्तिको परिचालन तथा उपयोग, उत्पाकत्व अभिवृद्धि, नवउद्यमशीलता एवं नवप्रवर्तनको विकास, रोजगारी सृजना, नेपाली वस्तु तथा सेवाको उपभोग तथा निर्यात प्रवद्र्धन तथा हरीत लगानी जस्ता विषयलाई नीतिले समेटेको परिसंघको भनाई छ ।
दिगो बैंकिङ विकाससहित वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुनका लागि मुलुकको धरातलीय यथार्थको अध्ययन–अनुसन्धानसहित वर्तमान आवश्यकता, औचित्यता र अपेक्षाहरुमा केन्द्रित रही सिबिफिनले बुझाएका, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नअटेका महत्वपूर्ण सुझावहरु आगामी निर्देशन र समीक्षामार्फत क्रमशः सम्बोधन हुँदै जाने विश्वास पनि परिसंघले गरेको छ । मौद्रिक नीतिले अंगिकार गरेका नीतिहरुको प्रभावकारी एवं नतिजामूलक कार्यान्वयनमा सिबिफिन सदैव निकट सहयोगी बनेर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।












प्रतिक्रिया