झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ५१ करोड ७९ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.४० प्रतिशतले बढी हो ।
कार्यालयले आव २०८०/८१ मा ३ अर्ब २१ करोड ५४ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । आव २०८१/८२ मा अघिल्लो आवको भन्दा ३० करोड २४ लाख ९१ हजार रुपैयाँको बढी राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।
कार्यालयले आव २०८१/८२ मा ४ अर्ब ८ करोड ५३ लाख ६० हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपि लक्ष्यको ८६.११ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व सङ्कलन हुनु सुखद् पक्ष रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाइ थियो ।
आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ, घरबहाल करबाट २ करोड ८४ लाख रुपैयाँ, ब्याजबापत ८ करोड ७५ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबापत १ अर्ब १५ करोड २७ लाख रुपैयाँ, अन्तःशुल्कबापत ६३ करोड ६६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गत आव २०८१/८२ मा सबैभन्दा बढी ३९.९८ प्रतिशतले अन्तःशुल्कबापत उठ्न करमा वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए । यसैगरी आयकरमा ४.२६ र मूल्य अभिवृद्धि करमा ३.७७ प्रतिशले राजस्व सङ्कलन बढेको छ ।
कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानुनी कारबाही गरिएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए ।










प्रतिक्रिया