शाइन रेसुङ्‍गा डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय आज (आइतबार) सकिँदैछ । बैंकले वार्षिक ८ प्रतिशत ब्याज दिनेगरी १० वर्ष अवधिको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गरेको हो।

प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरिएको छ। यसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको बैंकले जनाएको छ।

धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।