“७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” को निष्कासन समाप्त


काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी “७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” ४ गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल ३० लाख इकाईहरू, प्रत्येक १ हजरको अंकित मूल्यमा, जम्मा ३ अर्ब बराबरको यो निष्काशनमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको थियो ।

असार ३० देखि श्रावण १ सम्म खुला रहेको यो निष्काशनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो । जसले नेपाल एसबिआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउँछ ।

कुल इकाईहरूमध्ये १८ लाख इकाईहरू निजी प्लेसमेन्ट मार्फत र १२ लाख इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो । जसमध्ये ५ प्रतिशत (६० हजार इकाई) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो । १० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७ प्रतिशत वार्षिक आकर्षक ब्याजदर रहेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत जेठ ७ मा यो निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।