रसुवा बाढी : २८ करोड ९२ लाख रुपैयाँ बराबरको बिमा दाबी


काठमाडौँ । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न ७ बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा ५ करोड २० लाख रुपैयाँ बराबरको ३ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको ७ वटा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा १ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरको ६ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको ९ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी युनाइटेड अजोडमा ६८ लाख रुपैयाँ बराबरको ३ वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको ६ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको ७ वटा बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बिमा दाबी परेको छ ।

रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार  ०७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।