काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोड रुपैयाँको कृषिजन्य वस्तु निर्यात


झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१÷८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । गत आवमा सबैभन्दा धेरै चिया ९ अर्ब ५५ करोड ८५ लाख रुपैयाँ, अलैँची ५ अर्ब ५९ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर ३ अर्ब ८५ करोड ७१ लाख रुपैयाँ, अम्लिसो १ अर्ब ९ करोड मूल्य बराबरको निर्यात भएको छ ।

साथै अदुवा २७ करोड २६ लाख रुपैयाँ, बन्दा ८ करोड ६० लाख रुपैयाँ, जडीबुटी ९ करोड १३ लाख रुपैयाँ, मसुरो दाल ९ करोड ७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट ३ अर्ब ४६ करोड १ लाख ६६ हजार मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १७ करोड ७० लाख ७२ हजार रुपैयाँ, चामल ९ करोड २७ लाख रुपैयाँ, ताजा तरकारी ३८ करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।

यसैगरी ताजा फलफूल ३८ करोड ११ लाख रुपैयाँ, लसुन ६४ करोड १५ लाख रुपैयाँ, आलु ७३ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।