५ सय ६१ उद्योग खारेज हुँदा, थपिए १ हजार ७९ घरेलु तथा साना उद्योग


भद्रपुर । झापा जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा १ हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ ५ सय ८१ र वाणिज्यतर्फ ४ सय ९८ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ १ हजार ६ सय ९ र वाणिज्यतर्फ १ हजार ६ सय ६५ उद्योग नवीकरण गरिएको उनले बताइन्।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१/८२ मा उद्योगतर्फ ३ सय २४ र वाणिज्यतर्फ २ सय ३७ गरी ५ सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा १ सय ५२ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताइन्।

उद्योग बन्द हुनेभन्दा नयाँ थपिने क्रम बढ्दै गएको छ । कार्यालयले आव २०८१/८२ मा विभिन्न शीर्षकमा २ करोड ९१ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।