होटल सिराइचुलीले आईपीओ निष्काशन गर्दै


काठमाडौँ । चितवनको भरतपुरस्थित चारतारे होटल सिराइचुली लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले धितोपत्र बोर्ड नेपाल तथा अन्य नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी निकट भविष्यमा शेयर निष्काशन गर्ने बताएको छ।

धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र बाँडफाँड निर्देशिकामा व्यवस्था गरिएको प्रक्रियाअनुसार कम्पनीले आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया अघि बढाउने छ। सो कार्यका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड लाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।

कम्पनी र नबिल इन्भेष्टमेन्टबीच आज औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा होटल सिराइचुली लिमिटेडका अध्यक्ष चुडामणि खनाल र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। कार्यक्रम कम्पनीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको रोहवरमा सम्पन्न भएको हो।

होटलको सबै कोठा र सुइटहरू पर्यटकको सन्तुष्टिलाई ध्यानमा राखेर अत्याधुनिक सजावटसहित तयार पारिएको कम्पनीको भनाइ छ। साथै होटलबाट हिमालय शृङ्खलाको दृश्यावलोकन समेत गर्न सकिन्छ, जसले पर्यटकहरूलाई थप आकर्षण दिने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।